संसदमा ‘निःशुल्क स्वास्थ्य उपचार' सम्बन्धी संकल्प प्रस्ताव पेश

संसदमा ‘निःशुल्क स्वास्थ्य उपचार' सम्बन्धी संकल्प प्रस्ताव पेश

राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता' सम्बन्धी संकल्प प्रस्ताव पेश भएको छ । आज बसेको बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेश गरेकी हुन् । 

पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले प्रस्ताव दर्ता गराएको उनले जानकारी दिईन् । ‘नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेका छन् । अकालमा कयौंको ज्यान गईरहेको छ', उनले भनिन्, 'नागरिकको निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितताका सम्बन्धमा संकल्प प्रश्ताव पेश गरिएको हो ।'

सांसद पन्तले नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यताअनुरुप बाँच्न पाउने हकको सुनिश्चितताका लागि स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोडसमेत दिएकी छन् ।

'नेपालको संविधान र मानव अधिकारको विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गरियोस्, उपचारको सुनिश्चतता गरियोस्, बाँच्न पाउने अधिकारको सुनिश्चितता होस्', सांसद पन्तले भनिन, 'पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनैपनि नागरिकलाई अकाल मृत्युबाट बचाउन राज्यको उच्च प्राथमिकता, दायित्व र जिम्मेवारी हुनेछ । लोकतान्त्रिक र लोककल्याणकारी राज्यमा कुनै पनि नागरिक उपचारको अभावमा अकालमा मर्नुपर्ने छैन ।’

संकल्प प्रस्तावमा सांसदहरु कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक छन् ।

टिप्पणीहरू