अर्का गायकको पनि घरबारमा तरबार

अर्का गायकको पनि घरबारमा तरबार
सुन्नुहोस्

पछिल्लो समय कलाकारहरुको वैवाहिक जीवनमा खट्पट देखिन थालेको छ । गत बिहीबार गायक राजेश पायल राईले श्रीमति साङबुङ राईसँग महंगो डिभोर्स गरे । 

त्यसको भोलिपल्ट अर्का गायक रवि ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन् । आज फेरि युवा पुस्ताका चर्चित गायक निशान भट्टराईले श्रीमति ऋचा न्यौपानेसँग डिभोर्स गरेको खबर सार्वजनिक भएको छ । 

साढे दुई वर्षको प्रेम सम्बन्धपछि यो जोडीले २०७७ मा बिहे गरेका थिए । तर, एक वर्षपछि नै सम्बन्धमा खटपट भएपछि उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । अन्तत: उनीहरुले सहमतिमै सम्बन्धलाई पूर्णविराम दिएको बताइएको छ । 

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासमा दुवै जना उपस्थित भएर सहमतिमै डिभोर्स गरेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । उनले जनआस्थासँग भनिन्, 'उहाँहरु दुबैको संयुक्त निवेदनमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम मिलापत्रसहित सम्बन्ध विच्छेद भएको हो ।' 

उनका अनुसार सहमति पत्रमा ऋचाले निशानसँग कुनै अंश माग गरेकी छैनन् । गायन रियालिटी शो 'नेपाल आइडल'को पहिलो सिजनबाट चर्चामा आएका निशानका दर्जन गीतहरु हिट छन् । उनको 'के माया लाग्छ र, उखुमै लाग्छ नी', 'भुन्टी', 'लाहुर जाने रेल', 'मेसो मिलाएर' लगायतका गीतहरुलाई दर्शक स्रोताले निकै रुचाएको पाइन्छ ।

ऋचा पनि पेशाले मोडल हुन् । उनीहरुले विभिन्न म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

टिप्पणीहरू