विदेशीका नाममा पक्राउ, स्वदेशीसँगै जेल

विदेशीका नाममा पक्राउ, स्वदेशीसँगै जेल

विदेशी नागरिकलाई नागरिकता बेचेको अभियोगमा पक्राउ परेका दुई अधिकृत स्वदेशी नागरिकलाई नागरिकता बिक्री गरेको मुद्दा अघि आएपछि कारागार चलान भएका छन् । विदेशीका हकमा भने अझै अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतलाई अनुसन्धान जारी रहेको बताएको छ । 

दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा पठाउने आदेश गरेको छ । अर्का एकजनालाई भने पक्राउ पुर्जी जारी भएको छ । थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो ।

राजु गुरुङका बाबु  हरिभक्तलाई पक्राउ पुर्जीको आदेश भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् । अर्याल त्यसबेला जिल्ला प्रशासन काभ्रेमा सुब्बा थिए भने खरेल अधिकृत । पक्राउ परेका राजु गुरुङले ३÷४ लाख रूपैयाँमा नागरिकता र राहदानी बाबु हरिभक्त गुरुङले खरिद गरेर लगिदिएको बयान दिएका थिए । उनीहरू दुबै जना हङकङ बस्दै आएका थिए ।

गुरुङले युएस जाने प्रयोजनका लागि काठमाडौँबाट लिएको सक्कली नागरिकताका अलावा काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता र राहदानी खरिद गरेका थिए । ‘काभ्रेमा नागरिकता र राहदानी किन्न पाइने सूचनाका आधारमा बाबु हरिभक्त गुरुङले ०७४ सालमा बनेपा १४ ठेगाना राखी ०७४ मंसिर १३ गते लिएका थिए ।

मैले लिएको नागरिकतामा अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेका छन्’–अभियुक्त राजुले भनेका छन् । प्रजिअ शिव सिंखडा थिए । नागरिकता फाँटमा अनुुसूची मिलाउने र भर्ने काम सुब्बा रामचन्द्र अर्यालले गरे । सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा समेत अधिकृतद्वय खरेल र अर्याल अनुसन्धानमा छन् । बागमती प्रदेशसभा सचिवालयबाट रामचन्द्र अर्याल र मेलम्ची नगरपालिकाबाट अर्का अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी बेल्जियन नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुट्टा बिवरण पेश गरी नागरिकता लिएको मुद्दामा उनीहरूलाई पक्राउ गरिएको हो । खरेललाई निमाको अलावा राजु गुरुङ र कुलानन्द भण्डारीलाई समेत झुटा विवरण राखेर नागरिकता दिएको अभियोग छ । उनीहरू तीनै जनाको नागरिकतामा झपेन्द्रराज खरेलको हस्ताक्षर छ ।

दावा छिरिङले निमा तामाङका नाममा २०७४ पुस २० गते ३०–०१–७४–११८६८ नम्बरको नागरिकता लिएका थिए भने चितवन घर भई काठमाडौँ बस्दै आएका राजु गुरुङले २०७४ मसिर १३ गते नागरिकता लिए । त्यस्तै कुलानन्द भण्डारीले २०७४ पुस २० गते नै नागरिकता लिएको पाइन्छ । उनीहरू लगायत सोही अवधिमा ३ सय ५० वटा नागरिकता अनुसूचीबिना जारी गरेको खुलासा भएको थियो ।

- मोतीराम तिमल्सिना

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू