लुम्बिनीमा शुरु भयो शान्तिपर्व

भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति पर्व शुरु भएको छ,जसमा मुख्यगरी अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत आज बिहान ध्यान शिविरको आयोजना गरिएको छ । कार्यक्रमको निम्ति चीनदेखि कलाकार,खेलाडी,बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । कार्यक्रममा सामेल हुन हिजै साँझ परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको टोली लुम्बिनी पुगेको र आज उद्घाटनलाई सम्बोधन गरिसकेको स्थिति छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ,लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य,लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्य,पर्यटन बोर्डका प्रतिनिधिसहितलाई दायाँबायाँ राखेर राजदूत छन सोङ्गले बिश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे भर्खरै मन्तव्य दिएको प्राप्त समाचारमा जनाइएको छ ।  

नेपाल पर्यटन बोर्ड,काठमाडौंस्थित चिनियाँ दूतावास,लुम्बिनी विकास कोष,नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त तत्वावधानमा आज र भोलि हुने कार्यक्रमका सहआयोजकहरुमा नेपाल ओभरसिज चाइनिज एशोसिभोलि लुम्बिनीको चोङ हुवा गुम्बा र लुम्बिनी होटल एशोसिएसन छन् ।

महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्ने आयोजकहरुले विश्वास लिएका छन् । साथै, महोत्सवले नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने उनीहरूको दावी छ ।

विश्व सम्पदासूचीमा समाविस्ट लुम्बिनीमा आयोजित महोत्सवको दोस्रो दिन बिहान पवित्र बगैंचामा एक सय जना भिक्षु र ४०० जना भन्दा बढीको सहभागितामा ध्यान गरिने छ । शान्ति र खेलकुद विषयमा सेमिनार राखिएको छ भने भोलि बिहान चार विधामा म्याराथुन दौड हुँदैछ ।

भोलिको म्याराथुन प्रतियोगिता लुम्बिनी बुद्धिस्ट विश्वविद्यालय,युन्नान माउन्टेनिरिङ एण्ड आउटडुअर स्पोर्टस एसोसिएसन,प्रदेश पर्यटन विकास परिषद र ग्रीनरोड संस्थाको सहयोगमा हुन लागेको हो ।

त्यस्तै धनुषवाण,कुस्तीलगायत खेलको पनि प्रदर्शनी गरिँदै छ । महोत्सवको दोस्रो दिन भोलि लुम्बिनी स्क्वायर थिएटरमा कन्सर्ट राखिएको छ । कन्सर्टमा गायिका आनी छोइङ डोल्मा,चिनियाँ गायिका उलान तुयालगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

टिप्पणीहरू