ब्रिज कोर्स यता फेसन, उता प्रतिबन्ध

ब्रिज कोर्स यता फेसन, उता प्रतिबन्ध

हाल मुलुकभर माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ । चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले सहभागिता जनाएका छन् । परीक्षा केन्द्र बाहिर विभिन्न शैक्षिक संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु पर्चा बाँडिरहेको देखिन्छ ।

उनीहरुले ‘ब्रिज कोर्स’ को पर्चा बाँडेका हुन् । एसईई सकिएपछि सबै विद्यार्थी फुर्सदिला हुन्छन् । अधिकांश विद्यार्थीमा परीक्षा सकाएपछि नतिजा नआउँदासम्मको समयलाई कसरी सदुपयोग गर्ने ? भनी द्विविधा हुन्छ । 

कोही कम्प्युटर सिक्न जान्छन् त अन्य ब्रिज कोर्स पढ्न । पछिल्लो समय ब्रिज कोर्स पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । एसईईपछिको समय ब्रिज कोर्समा बिताउनुको साटो विद्यार्थीहरुले अन्य व्यावहारिक वा सिपयुक्त ज्ञान लिन वा सिक्न आवश्यक रहेको शिक्षाविद्हरुको भनाइ छ । ब्रिज कोर्सका लागि ट्युसन सेन्टर जाने र पढाइलाई प्राथमिकता नदिने प्रवृत्ति विद्यार्थीहरुमा बढ्दै गएको पाइएको छ । 

ब्रिज कोर्सको नाममा चर्को शुल्क लिने क्रम पनि बढिरहेको पाइन्छ । यसका लागि सहर बजारमा अनगिन्ती इन्स्टिच्युट खुलेका छन् । ती इन्स्टिच्युटका कोर्षका गुणस्तरबारे कसैले पनि चासो देखाएका छैनन् ।

समयको बर्बादी : शिक्षाविद्

शिक्षाविद् विद्यानाथ कोइराला नेपालमा ब्रिज कोर्स प्रभावकारी हुन नसकेको बताउँछन् । ब्रिज कोर्सका नाममा निजी विद्यालय तथा इन्स्टिच्युटहरुको लुटतन्त्र मच्चिरहेको भन्दै उनले एसईईपछि ब्रिज कोर्स अध्ययन गर्नुको साटो विद्यार्थीहरुले व्यावहारिक तथा सिपयुक्त ज्ञान लिन जरुरी रहेको बताए । 

‘बाहिरी मुलुकमा ब्रिज कोर्स एसईईपछिका विद्यार्थीका लागि उपयुक्त छ । किनकि यसले कक्षा ११ मा प्रवेश गर्ने र प्लस टुस पढ्ने तयारी गराउँछ,’ उनले भने, ‘तर, हाम्रोमा यस्तो छैन । विद्यार्थीलाई कक्षा ११ मा पढ्दा कति गाह्रो हुन्छ ?, के कस्ता विषय हुन्छ ? र कसरी तयारी गर्ने भनेर ब्रिज कोर्समार्फत् पूर्वतयारी गराउनुको साटो इन्स्टिच्युटहरुले ब्रिज कोर्स पढेमा राम्रो क्याम्पसमा भर्ना गरिदिने वा हुने, क्याम्पसको शुल्क कम लाग्नेजस्ता भ्रम छरेको पाइन्छ ।’

यसले ब्रिज कोर्स समयको बर्बादी मात्र भएको उनको बुझाइ छ । अधिकांश विद्यार्थी अलमलमा परेर, साथीभाइको लहैलहैमा लागेर वा देखासिकीमा ब्रिज कोर्स पढ्ने गरेको बताउँछन् । तर, विद्यार्थी र अभिभावकहरुले यसमा ध्यान नदिँदा ब्रिज कोर्सले समयको बर्बाद मात्र गरिरहेको विज्ञहरुको बुझाइ छ ।

पोखरामा ब्रिज कोर्स प्रतिबन्ध 

कास्कीको पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले गत वर्षदेखि यस्तो कक्षा सञ्चालनमा रोक लगाएको हो । यसका नाममा मोटो रकम असुलिएको गुनासोपछि महानगरले यस्ता कक्षा सञ्चालनमा प्रतिबन्ध लगाएको हो । 

महानगरका प्रवक्ता मोतिलाल तिम्सिना पछिल्लो समय ब्रिज कोर्स आवश्यकता नभई फेसन बन्दै गएको बताउँछन् । एसईईपछिको समय विद्यार्थीले ब्रिज कोर्स अध्ययनमा बिताउनुको साटो सीपयुक्त तालिमहरु लिनुपर्नेमा उनी पनि सहमत छन् । 

उनी भन्छन्, ‘जसरी कक्षा १० सम्म अध्ययन भएको हुन्छ । त्यसरी नै कक्षा ११ र १२ मा पनि अध्ययन हुने हो । तर, केही वर्षयता कक्षा ११ मा भर्ना हुन गाह्रो हुने र त्यससम्बन्धी जानकारी दिने नाममा ब्रिज कोर्स सञ्चालन गरिएको छ । अहिले यो फेसन नै भएको छ । एसईई सकिएपछि नचाहँदा नचाहँदै पनि कतिपय विद्यार्थी ब्रिज कोर्स पढ्न बाध्य भएका छन् भने कतिपय अभिभावक पढाउन ।’

तिम्सिनाका अनुसार ब्रिज कोर्सको नाममा इन्स्टिच्युटहरुले चर्को शुल्क लिएर ठगेको पाइयो । त्यसैले, गत वर्षदेखि ब्रिज कोर्स सञ्चालनमा रोक लगाइएको हो ।

महानगरले ब्रिज कोर्स सञ्चालनमा रोक लगाएपछि एसईईदिएका विद्यार्थीलाई विभिन्न सिपयुक्त तालिमको निम्ति आवेदन समेत खुलाइसकेको छ । ब्रिज कोर्सभन्दा क्षमता विकास र भविष्यमा काम लाग्ने सीपयुक्त तालिमको आवश्यक पर्ने भएकाले महानगरले त्यस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्न लागेको हो ।

टिप्पणीहरू