डिजेल चोरी हेटौंडामा, ट्याङ्कर थानकोटमा

डिजेल चोरी हेटौंडामा, ट्याङ्कर थानकोटमा

डिजेल चोरीमा संलग्न हेटौंडा उपमहानगरपालिका–९ स्थित नवदुर्गा आयल स्टोर्सका सञ्चालकलाई स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख विनितमणि उपाध्यायले नवदुर्गाका सञ्चालकलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएका हुन् ।

हिजो नवदुर्गा आयल स्टोरको कम्पाउण्डमा डिजेल झिक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको ना.७ ख २७९४ नम्बरको ट्याङ्करलाई भने थानकोटस्थित आयल निगमको बागमती प्रादेशिक कार्यालयमा ल्याइएको छ ।

अमलेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने, ‘पेट्रोलपम्प सञ्चालकलाई २४ घण्टाभित्र डिजेल चोरीबारे स्पष्टिकरण पेश गर्न लिखित स्पष्टिकरण पेश गर्न पत्र बुझाएका छौँ । चोरीबारे सत्यतथ्य छिट्टै सार्वजानिक गर्ने छौँ ।’

उक्त घटनाबारे अनुसन्धान भइरहेको थानकोट डिपो प्रमख अशोक साहले जानकारी दिए । घटनामा चालकलाई दोष देखाएर कारबाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिस गर्ने अनुमान सहजै लगाउन सकिन्छ । तर थानकोट डिपोको अपरेसन विभागमा कार्यरत हाकिमदेखि अन्य प्रभावशाली कर्मचारीहरुको संलग्नताबिना चालकले त्यसो गर्न नसक्ने बताइन्छ ।

 उक्त विभागमा कार्यरत कर्मचारीले चालकबाट आर्थिक लाभ लिएपछि ट्याङ्करमा तोकिएको परिमाणमा तेल रहेको जनाउँदै भण्डारमा खन्याउने गरेको घटना यसअघि पनि देखिइसकेको छ । यो प्रवृत्तिबाट चालक, सहचालक र कर्मचारीलाई आर्थिक लाभ भए पनि निगमलाई भने संस्थागत नोक्सानी हुँदै आएको छ । 

हिजो दिउँसो हेटौँडा प्रहरीले स्थानीय बासिन्दाको उजुरीपछि डिजेल चोरी गरिरहेको समयमा ट्यांकर नियन्त्रणमा लिएको थियो । चालक अलाम हवारी र नवदुर्गा आयल स्टोर्सका कर्मचारी वीरेन्द्र साहलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको बताइन्छ ।

टिप्पणीहरू