काठमाण्डौको आकाशमा आज अकल्पनीय घटना

काठमाण्डौको आकाशमा आज अकल्पनीय घटना
सुन्नुहोस्

चीनको छन्तु शहरस्थित तियानफु विमानस्थलबाट हिजो बिहान काठमाडौंका लागि उडेको एअर चाइनाको उडान नम्बर सिए ४३७ विमान खराब मौसमका कारण दिउँसो उतै फर्कियो । सिमरा,धार्केमाथिको आकाशमा डेढ घण्टा फन्को लगाउँदा पनि पार नलागेपछि चालक दलका सदस्यहरुले काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकिने निश्कर्ष निकाल्दै पौने तीन घण्टा लगाएर बीचमा कतै नरोकिई उतै जहाज मोडेका थिए ।

यसरी प्लेन डाइभर्ट भएका कारण दुवैतर्फ गरेर तीन सय हाराहारी यात्रुको होटल व्यवस्थापन,दोहोरो उडानलगायतले विमान कम्पनीलाई दशौं लाख घाटा लागेको स्वतः अनुमान गर्न सकिन्छ । आज सोही विमान साढे ११ बजे सिमरामाथिको आकाशमा आइपुगे पनि सहजै अवतरण गर्न सकेन । मौसमको खराबी वा अन्य कारणले नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एअर ट्राफिक कन्ट्रोलरको खराब र सुरक्षाको दृष्टिकोणले निकै डरलाग्दो निर्णयका कारण उक्त विमानले रनवे नजिकै पुगेर पनि ओभरसुट गरेको थियो ।

हिजोको ‘डाइभर्ट’ र आजको ‘ओभरसुट’ ले यात्रुको सुरक्षा, विमान कम्पनी र मुलुकको विश्वसनीयतामाथि गम्भीर प्रश्न भने उठेको छ । टर्किस,कतार,जजिरा,भिस्तारा,सिचुवान,हिमालयलगायत अरु सबै विमान अवतरण भइरहँदा एअर चाइनाकै विमान हिजो किन डाइभर्टको निर्णयमा पुग्यो र आज विमानस्थल नजिकै आइपुगेर एकाएक किन ओभरसुट गर्नुपर्यो ? भन्ने विषयले हवाई क्षेत्रका र उक्त उडानका यात्रुलाई सोच्न बाध्य पारेको छ । 

आजको यात्रा विवरण सुनाउँदै चीनबाट उक्त विमानमा काठमाडौं आएका एकजना यात्रु भन्छन्, ‘आज पनि उक्त विमानले बिहान साढे ११ बजे नबज्दै भट्टेडाँडा पार गर्यो । १२ हजार फिटको उचाइमा रहेको विमानलाई एअर ट्राफिकले अवतरण अनुमति दिएपछि ७ हजार फिटमा झरिसकेको थियो । विमानभित्र ल्याण्डको लागि अन्तिम घोषणा पनि भैसकेको थियो । तर, सातदोबाटो नजिक आइपुगेको विमानले एकाएक ओभरसुट गर्यो । भक्तपुरतर्फ मोडिएर विमान थानकोट हुँदै चितवन,मकवानपुर र सिमरातिर २५ मीनेट घुम्न थालेपछि हिजैदेखि थकित र निराश यात्रुहरु झन आत्तिए ।’

ललितपुरको भट्टेडाँडा पार गरेर ग्वार्को माथि पुगिसकेको विमानले आज पुनः ओभरसुट गरेर २५ मीनेट आकाशमै फन्को लगाउनु परेसङ्गै प्रश्न उठेको छ-स्वर्गीय आङछिरिङ्ग शेर्पाको यति कम्पनीले नागरिक उड्डयनका हाकिमहरुलाई कस्तो गुलियो चटाउँदो हो ताकि ल्याण्ड गर्नै लागेको ठूलो विमानले एक्कासी घत्र्याक घुत्रुक गर्दै उचाइ लिन बाध्य भयो !

उक्त अवस्थाबारे जानकारी लिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अधिकृतहरु भन्छन्, ‘खै कसको के स्वार्थ हो ? १० हजार फिटभन्दा मुनि ७ हजारको रेन्जमा आइसकेको विमानलाई  ओभरसुट गर्नुपर्ने बाध्यता किन आइपर्यो त्योचाहिँ गम्भीर छ ।’ उच्च स्रोतका अनुसार भद्रपुर जाने क्रममा विमानस्थलको रनवेमै नपुगेको यति एअरलाइन्स YT ९२१ नम्बरको विमानलाई त्यहीबेला एकाएक उड्न अनुमति दिइयो भने ल्याण्डिङ्ग गर्नै लागेको चिनियाँ विमानलाई ओभरसुट गर्दै झण्डै डाइभर्टको लागि बाध्य पार्ने काम भयो । 

यात्रुको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुने पक्ष एकातिर छ । अर्कोतर्फ विमानको इन्धन र मेशिन ह्रासकट्टी पनि त्यत्तिकै महँगो हुन्छ । हिजोको डाइभर्ट र आजको ओभरसुटले विमानभित्रका यात्रु अधिकांश डराएको आज काठमाडौं आइपुगेका विभिन्न यात्रुले बताए । विमानका क्याप्टेन भने एअर ट्राफिकको गैरजिम्मेवारपूर्ण निर्णयबाट निकै रिसाएको बताइन्छ । 

हिजो काठमाडौंको आकाशबाट हतास र निराश हुँदै छन्तु फर्केका विभिन्न देशका अनिदो यात्रुहरु आज भने अवतरण हुनेमा ढुक्क थिए । तर ललितपुरको भट्टेडाँडा पार गरेर उपत्यकाको आकाशमा छिरिसकेको विमानले आज पुनः ओभरसुट गरेर २५ मीनेट आकाशमै फन्को लगाउनुपरेसङ्गै प्रश्न उठेको छ-स्वर्गीय आङछिरिङ्ग शेर्पाको कम्पनीले नागरिक उड्डयनका हाकिमहरुलाई कस्तो गुलियो चटाउँदो हो ताकि ल्याण्ड गर्नै लागेको ठूलो विमानले एक्कासी घत्र्याक घुत्रुक गर्दै उचाइ लिन बाध्य भयो !

यस्तो बिजोग अवस्थाको बारेमा आशंका गर्दै स्रोत भन्छ, ‘महानिर्देशक प्रदिप अधिकारी रहेको प्राधिकरणको कुरै नगरौं । झर्दै गरेको विमानलाई पुनः मास्तिर लान आदेश दिएर निजी क्षेत्रका विमानलाई एकमात्र रनवे खाली गराइदिने प्रपञ्च हो यो । यसबाट निजी क्षेत्रका आन्तरिक विमान कम्पनीले अधिकारीलगायत प्राधिकरणका हर्ताकर्ताको राम्रै खातिर गरेको पुष्टि हुन्छ । तर यसबाट भयंकर दुर्घटनाको सम्भावनासँगै नेपाली उड्डयन क्षेत्रको विश्वसनीयता पनि बिस्तारै गुम्दै गएको प्रष्ट छ ।’

टिप्पणीहरू