उडानमा रक्सी सेवन गरेपछि पाइलट बर्खास्त

उडानमा रक्सी सेवन गरेपछि पाइलट बर्खास्त

भारतीय विमान कम्पनी एअर इण्डियाले रक्सी पिएर विमान उडाएको आरोपमा एक जना पाइलटलाई बर्खास्त गरेको छ । गतसाता थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीको उडानमा रहेका ती पाइलटले रक्सी सेवन गरेको पाइएको थियो ।

नयाँ दिल्लीमा विमान अवतरणपछि गरिएको मादक पदार्थ सेवन परीक्षणमा उनले रक्सी पिएको देखिएको हो । भारतीय नागरिक उड्डयन कार्यालयका अनुसार ती पाइलटले उक्त उडानमा क्याप्टेनको तालिम गरिरहेका थिए ।

भारतमा पछिल्लो छ महिनामा ३३ जना पाइलट र ९७ जना चालक दलका सदस्यले उडानमा मापसे सेवन गरेको पाइएको छ । भारतको आन्तरिक उडानमा यात्रुलाई रक्सी दिईंदैन भने अन्तर्राष्ट्रिय उडानमा दिइन्छ । त्यसैले अन्तर्राष्ट्रिय उडान पूरा भएपछि  विमान अवतरण लगत्तै उनीहरुको मापसे परीक्षण गर्ने गरिएको छ ।

त्यस्तो परीक्षणमा असफल हुने पाइलटलाई पहिलो पटक तीन महिनाको लागि निलम्बन गरिन्छ । दोस्रो पटक पनि पाइएमा तीन वर्षसम्म उडानमा प्रतिबन्ध लगाइन्छ र तेस्रो पटक सेवन गरेमा पाइलटको लाइसेन्स सँधैको लागि रद्ध गर्ने व्यवस्था रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू