लुम्बिनीमा पर्यटन प्रवर्द्धनको अर्को प्रयास

लुम्बिनीमा पर्यटन प्रवर्द्धनको अर्को प्रयास

गैरआवासीय नेपाली संघ (एनआरएनए) र बुद्ध परिपथका चार पालिकाबीच लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन  तथा विकासका लागि विभिन्न सम्झौता भएको छ । राजधानीमा आयोजित एउटा कार्यक्रममा एनआरएनए र पालिकाका पदाधिकारीबीच समझदारी भएको छ ।

समझदारी पत्रमा एनआरएनएको तर्फबाट अध्यक्ष डा.बद्री केसी, पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकोटा र पालिकाको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देवदह नगरपालिकाका मेयर ध्रुव खरेल, रामग्राम नगरपालिकाका मेयर धनपत यादवले हस्ताक्षर गरेका छन् । 

लुम्बिनी र बुद्ध परिपथको विकासको लागि एक भएर अघि बढ्ने, गैरआवासीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणको लागि उत्प्रेरित गर्ने, बुद्ध धर्मको बारेमा विभिन्न मुलुकमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शनबारे अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्ने, बुद्ध दर्शनसँग सम्बन्धित संघसंस्था तथा कुटनीतिक नियोगसँग समन्वय गरेर लुम्बिनीलाई विश्वसँग जोड्ने पुलको रुपमा काम गर्नेलगायतका विषयवस्तु पत्रमा उल्लेख छ । 

हिजो आयोजित कार्यक्रममा अध्यक्ष केसीले पर्यटकीय वातावरण तयार पार्न तथा नेपालको संस्कृति तथा सम्पदा विश्वमा चिनाउन बुद्ध परिपथका पालिकासँग सहकार्य गरिएको बताए । उनले भने, ‘हामी ७० लाख नेपाली बाहिर छौं । त्यतिले एक एक जना मात्र भित्र्याउन सक्यो भने पर्यटकको यहाँ ओइरो लाग्छ । लुम्बिनीमा गएर आधा घण्टामा फर्किने चलन छ । बुद्ध परिपथका चार पालिकामा पर्याप्त सम्पदाहरु छन् । तिनीहरुको इतिहास बुझाउन सक्ने हो भने पर्यटकहरु एक साता लुम्बिनी बस्छन् । हामीहरु बुद्ध र शान्तिको सन्देशसँगै नेपालको सम्पदा र संस्कृतिको प्रचारप्रसार गर्छौं ।’

त्यस्तै, पालिकाका मेयरहरुले पनि कार्यक्रममा आफ्ना धारणा राखेका थिए । एनआरएनएसँगको समझदारीले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा थप सहयोग पुग्ने उनीहरुले बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत लक्ष्मण गौतमलगायतका पदाधिकारीहरु पनि थिए ।

टिप्पणीहरू