महिलामैत्री वजेट बनाउन मन्त्री सक्रिय

महिलामैत्री वजेट बनाउन मन्त्री सक्रिय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामैत्री बजेट ल्याउनका लागि सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको बताउनुभएको छ ।  

आगामी आर्थिक वर्षको बजेटमा महिलाका मुद्दालाई सम्बोधन गर्नेगरी अन्तरमन्त्रालय छलफल चलिरहेको जानकारी गराउनुभएको हो । महिलाका मूल विषयमा सम्बन्धित रहेका गृह, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयबीच आगामी आर्थिक वर्षको बजेट महिलामंत्री बनाउनेबारे गहन कुराकानी भइरहेको मन्त्री चौधरीको भनाई छ । 

आज काठमाडौंमा आयोजित शिक्षा सम्मेलनमा बोल्दै उहाँले किशोरीमैत्री बजेटका लागि पनि मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । महिलाका लागि उद्यमी शिक्षा, साक्षरता शिक्षा, प्रौढ शिक्षा भनेजस्तै किशोरीहरुका लागि लैंगिकमैत्री बजेट ल्याउने मन्त्री चौधरीको प्रतिवद्धता छ । 

त्यसक्रममा उहाँले स्थानीय तहमा पूर्वाधारको अभावले किशोरीहरुको सेनिटरी प्याडसम्बन्धी कार्यक्रम प्रभावकारी नभएको उल्लेख गर्दै यसबारे फिनल्याण्ड सरकारसँग छलफल गरिरहेको जानकारी गराउनुभयो ।

 मन्त्री चौधरीले अपांगता भएका व्यक्तिहरुलाई विशेष सुविधा दिने सरकारको दृढता सुनाउनुभयो ।

टिप्पणीहरू