आजदेखि एसईई, उतीर्णका लागि ३५ अंक आवश्यक

आजदेखि एसईई, उतीर्णका लागि ३५ अंक आवश्यक फाइल फाेटाे

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ जना सहभागी हुँदै छन् ।

तीमध्ये दुई लाख ५० हजार ७७२ जना छात्रा, दुई लाख ५३ हजार ६२७ जना छात्र र अन्य १५ जना हुन् । यो वर्ष जापानबाट समेत २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जापानमा रहेका नेपालीका छोराछोरीहरुले टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिँदै छन् । त्यहाँ १५ छात्रा र आठ जना छात्र छन् । 

पहिलो पटक एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायबाट १५ जना विद्यार्थीले पनि परीक्षा दिँदै छन् । दृष्टिविहीन, कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीलाई सम्बन्धित ठाउँबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । नयाँ पाठ्यक्रममा आधारित परीक्षा भएकाले उत्तीर्ण हुन अनिवार्य ३५ अंक ल्याउर्नैपर्ने छ ।

मुलुकभित्र दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । परीक्षाको निम्ति ७७ हजारभन्दा बढी जनशक्ति खटाइएको छ । गत वर्षको एसईईमा चार लाख ८५ हजार ३९६ जनाको सहभागिता थियो । तीमध्ये १४ जना विद्यार्थीले जापानबाट परीक्षा दिएका थिए ।

टिप्पणीहरू