राखेपको सम्पूर्ण विवरण खोज्दै खेलकुद मन्त्रालय

राखेपको सम्पूर्ण विवरण खोज्दै खेलकुद मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट र फुटबलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को आन्तरिक गतिविधिसहितको पूर्ण विवरण मागेको छ । 

राखेपलाई पत्र लेखेर मन्त्रालयले उसको आन्तरिक क्रियाकलापसँग सम्बन्धित विषय र खेलको विकासका लागि भए गरेका कामकारवाहीको विवरण उपलब्ध गराउन भनेको हो । पत्रमा खेलकुद क्षेत्रको विकासका लागि थप योजना, नीति तथा रणनीति तयार गर्ने सन्दर्भमा भइरहेका काम, कारबाही र क्रियाकलापसँग सम्बन्धित विवरण पठाउन निर्देशन दिइएको छ । 

त्यस्तै, राखेपको स्वीकृत विधान, पदाधिकारी र कर्मचारीको नाम, पद र सम्पर्क नम्बरसहितको विवरण मागेको मन्त्रालयले पछिल्लो तीन वर्षको प्रगति र लेखा परीक्षण प्रतिवेदन पनि उपलब्ध गराउन भनेको छ । भौतिक पूर्वाधार र उपकरणको अवस्था, प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधिसँगै संघबाट तयार भएका योजना तथा कार्यक्रमको विवरण पनि मन्त्रालयले मागेको छ । 

मन्त्रालयले पछिल्लो तीन वर्षमा नेपालले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता (मिति र स्थान समेत), पदाधिकारीहरुले गरेको विदेश भ्रमण र परिषद्को आम्दानीको स्रोत (वैदेशिक समेत खुलाउने)को पनि विवरणसमेत खोजेको छ ।

टिप्पणीहरू