५० हजार डलरको पुरस्कारका लागि आवेदन आह्वान

५० हजार डलरको पुरस्कारका लागि आवेदन आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले 'युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार'का लागि आवेदन मागेको छ । ५० हजार डलर राशीको उक्त पुरस्कारका लागि मन्त्रालयले आज सूचना सार्वजनिक गर्दै आवेदन आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्ति तथा संस्थाले आगामी वैशाख ३ गतेभित्र दरखास्त दिनसक्ने सूचनामा जनाएइको छ । युनेस्को पेरिसबाट सन् २०२४ को पुरस्कारका लागि सरकारलाई सिफारिस गर्न अनुरोध भएबमोजिम दरखास्त आह्वान गरेको मन्त्रालयले जानकारी दिएको छ । 

‘युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको अस्तिको निर्णयानुसार युनेस्को पेरिसबाट सन् २०२४ को लागि नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भई आएको युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कारका लागि यस क्षेत्रमा उल्लेखनीय कार्य गरी तोकिएको सर्त पूरा गरेका नेपालका नागरिक तथा संस्थालाई दरखास्त आह्वान गरिएको छ',सूचनामा भनिएको छ ।

मन्त्रालयका अनुसार महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गरेका व्यक्ति, संस्था तथा संगठनले आवेदन दिन सक्नेछन् । सूचनामा महिला र बालबालिकाको शिक्षाका लागि काम गरेका व्यक्ति वा संस्थाको परियोजना वा कार्यक्रम चालु अवस्थामा हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, दरखास्तका साथ सम्बन्धित स्थानीय तहको सिफारिसपत्र, मूल्यांकन तथा अनुगमन रिपोर्ट, संस्थाको दर्ता प्रमाणपत्र, नवीकरण अद्यावधिक गरिएको सक्कल प्रतिलगायतका कागजात बुझाउनुपर्नेछ । तोकिएको कागजातहरु बुझाउन नसकेमा आवेदन स्वतः बदर हुने जनाइएको छ । 

आवेदन व्यक्ति तथा संस्थाको छनौटको सिफारिस युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयबाट हुनेछ । ग्लोबल प्रतिस्पर्धाबाट प्राप्त हुने पुरस्कारको अन्तिम मनोनयन युनेस्को प्रधान कार्यालय पेरिसद्धारा गठन हुने जुरीको सिफारिसमा युनेस्को प्रधान कार्यालयका महानिर्देशकबाट हुने मन्त्रालयले बताएको छ । 

यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट लिन सकिनेछ ।

टिप्पणीहरू