अझै आठ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

अझै आठ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

नयाँ शैक्षिक सत्र आगामी बैशाख २ गतेदेखि सुरु हुँदैछ । शैक्षिक सत्र सुरु हुन लागिसक्दा समयमै विद्यार्थीको हातमा पुस्तक पुग्छ वा पुग्दैन ? भन्ने अन्यौल विगतमा झैँ यो वर्ष पनि कायम छ । 

विगतका वर्षमा पाठ्यपुस्तक छपाईमा ढिलाई हुँदा विद्यार्थीहरुले विभिन्न समस्या झेल्नुपरेको थियो । शैक्षिक सत्रको अन्तिमसम्म ग्रामीण भेगका विद्यालयमा पुस्तक नपुगेको र पुस्तकबिना परीक्षा दिन विद्यार्थीहरु बाध्य भएका छन् ।

कोभिड–१९ महामारी र पाठ्यपुस्तक अभावका कारण पढाइमा अब्बल विद्यार्थीको समेत अध्ययनप्रतिको मनोबल घटेको र शैक्षिक गुणस्तर पनि खस्कँदै गएको पाइएको छ । 

तर, यो वर्ष समयमै विद्यार्थीको हातमा किताब पुग्ने विद्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको दाबी छ । केन्द्रले यो वर्ष कक्षा ५ देखि १२ सम्मको पुस्तक छाप्ने जिम्मा पाएको छ ।

गत वर्ष समयमै पुस्तक छाप्न नसकेपछि सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न निजी क्षेत्रलाई जिम्मा दिएको थियो । सोहीअनुरुप निजी क्षेत्रले कक्षा ५ सम्मको एक करोड २० लाख थान पाठ्यपुस्तक छाप्यो । 

केन्द्रले कक्षा ६ देखि १२ सम्मका एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको थियो । यो वर्ष निजी प्रकाशकलाई कक्षा १ देखि ४ गतेसम्मको मात्र पुस्तक छाप्न दिइएको छ । 

त्यस्तै, जनक शिक्षाले कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । गत वर्षभन्दा धेरै पुस्तक छाप्न सक्ने बताएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रलाई कक्षा ५ को पनि किताब छाप्न दिएको जनाएको छ  । 

नयाँ शैक्षिक सत्र सुरु हुन एक महिना बाँकी छ । केन्द्रले शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा यो वर्ष समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्छन् । छपाई कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भर्ना अभियान सुरु हुनुअगावै किताब विद्यालय पुग्ने बताए । 

‘हामीले तीव्र गतिमा काम गरिरहेका छौं । यो पल्ट शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीको हातहातमा किताब पुग्नेछ,’ उनले भने । अघिल्ला वर्षहरुमा कोरोना महामारीमा सजगता अपनाएर मतपत्र छाप्नु परेकाले पनि पाठ्यपुस्तक छपाईमा ढिलाई भएको उनको भनाई छ । यो वर्ष चैतको अन्तिमसम्म पुस्तक सम्बन्धित स्थानीय तह वा विद्यालयसम्म पुग्ने समेत बताए ।  

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले चैत १ गते भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी थिइन् । भक्तपुरको सानोथिमीस्थित केन्द्रको कार्यालय अनुगमन गर्दै उनले त्यस्तो निर्देशन दिएकी हुन् । 

मन्त्रालयले गत मंगलबार पत्र लेख्दै केन्द्रलाई तत्काल पाठ्यपुस्तक ढुवानी थाल्न समेत निर्देशन दिएको छ । पाठ्यपुस्तक सम्बन्धित स्थानीय तह तथा विद्यालयमा पुग्न समय लाग्ने भन्दै मन्त्रालयले तत्काल ढुवानी सुरु गर्न भनेको हो । 

यता, केन्द्रका प्रबन्ध निर्देशक झाले यतिखेर काममा थप तीव्रता आएको बताए । उनले भने, ‘मन्त्रीज्यूको निर्देशनअघि नै पाठ्यपुस्तक छपाई अन्तिम चरणमा पुगेको थियो ।’

आठ लाख थान पुस्तक छाप्न बाँकी 

जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष कक्षा ५ देखि १२ सम्मको एक करोड ७५ लाख थान पुस्तक छाप्ने जिम्मा पाएको थियो । त्यसमध्ये अझै आठ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनाइएको छ । 

यद्यपि, ती सबै पुस्तक चैत १५ गतेभित्र छापिसक्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा बताउँछन् । ‘अब आठ लाख थान पुस्तक छाप्न बाँकी छ । ती सबै पुस्तक हामी चैत १५ गतेभित्र छापिसक्छौं,’ उनले भने । 

उनका अनुसार दैनिक एक लाख थान किताब छपाई हुँदै आएको छ । चैत १५ गतेभित्र सबै किताब छापिसक्ने उनको भनाइ छ ।  

आठ वटा केन्द्रबाट पाठ्यपुस्तक वितरण हुँदै 

केन्द्रले शुक्रबार (भोलि) देखि पाठ्यपुस्तक बिक्रीवितरण थाल्दैछ । पाठ्यपुस्तक बिक्रीवितरणका लागि विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी गरी आठ वटा प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । 

त्यस्तै, एक हजार दुई सय ६७ जना बिक्रीकर्तामार्फत पुस्तक सम्बन्धित स्थानीय तह वा विद्यालयसम्म पुप्याइने झाले बताए । उनका अनुसार पहिलो चरणमा हिमाली क्षेत्रमा पुस्तक वितरण गरिनेछ । त्यसपछि दुर्गम पहाडी जिल्ला तथा तराईमा अनि मात्र उपत्यकामा वितरण गरिने उनले जनाएका छन् ।

‘हिमाली र दुर्गम पहाडी जिल्लामा पुस्तक पुप्याउन एक हप्तासम्म लाग्छ । त्यसैले, हामीले यी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका हौं,’ उनले भने । 

पुरानै मूल्यमा पाठ्यपुस्तक

पाठ्यपुस्तकको मूल्य यो वर्ष पनि पुरानै कायम हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि छापिएका पाठ्यपुस्तकमा पुरानै मूल्य लागू गर्न निर्देशन दिएको हो । 

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत भएकोले सोअनुरुप गर्न भनेको छ ।  कक्षा १ देखि १० सम्मका चार रङका र कक्षा ११ र १२ का पाठ्यपुस्तक (संस्कृत धारसमेत) को मूल्य विवरण अनुसार गर्न गराउन भनिएको छ । 

जसअनुसार कक्षा १ को मातृभाषा र स्थानीय विषयबाहेक पुस्तकको जम्मा मूल्य ५२० रुपैयाँ छ । त्यस्तै, कक्षा २ को ५२६, कक्षा ३ को ५८०, कक्षा ४ को ५९६, कक्षा ५ को ६३२, कक्षा ६ को ७०७, कक्षा ७ को ७४८, कक्षा ८ को ८७८, कक्षा ९ को ७६७ र कक्षा १० को ९२२ रुपैयाँ छ । 

यता, कक्षा ११ र १२ को अनिवार्य तीन विषयको क्रमशः २६९ र ३१६ रुपैयाँ मूल्य तोकिएको छ । केन्द्रले विवरणमा समावेश हुन नसकेका पाठ्यपुस्तकका मुद्रणीय प्रति एक रङमा भए प्रतिपेज ३६ पैसा र बहुरङमा भए नेपाली माध्यममा छापिएका पुस्तकसरह ५५ पैसाले दरले हुन आउने रकम उल्लेख गरी छपाई तथा वितरण गर्न समेत निर्देशन दिएको छ ।

टिप्पणीहरू