सहकारीको ऋण नतिर्नेमाथि कारबाही निश्चित

सहकारीको ऋण नतिर्नेमाथि कारबाही निश्चित

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न ऋणीहरुलाई आग्रह गरेको छ । महानगरले ऋणको साँवाब्याज समयमै भुक्तान गर्न अनुरोध गर्दै अन्यथा कारबाही निश्चित रहेको जनाएको छ ।

सहकारीको ऋण तिर्नु नपर्ने भन्दै फैलाइएको भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका आधारमा ऋण चुक्ता नगरेको गुनासो प्राप्त भएको जनाउँदै महानगरले विद्यमान कानून र सहकारी ऐन विपरीतका कार्य नगर्न सचेत गराएको छ । 

‘ऋणी सदस्यहरुले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन, २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ६५ र ६६ एंव काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ,’ आज जारी सूचनामा उल्लेख छ । 

ऋणीहरुले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको हो । महानगरले प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानूनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो, सोहीबमोजिम ऋणको साँवा र ब्याज बुझाउन अनुरोध गरेको छ । अन्यथा, कानूनबमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

टिप्पणीहरू