अख्तियारबाट डिजी फर्केपछि अड्डामा सबै न्युज पोर्टलमाथि प्रतिवन्ध

अख्तियारबाट डिजी फर्केपछि अड्डामा सबै न्युज पोर्टलमाथि प्रतिवन्ध
सुन्नुहोस्

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको अख्तियारमा बयान जारी छ । उनी शुक्रबार बिहान १०.२० बजे टंगालस्थित आयोगमा छिरेर साढे १२ बजे निस्केको सुरक्षा स्रोतले बताएको छ । 

त्यहाँबाट हान्निँदै प्राधिकरणको बबरमहलस्थित पुरानो हेड अफिस गएका उनी एक घण्टा जति त्यहाँ बसेपछि सिनामंगलको नयाँ अफिसमा पुगेका थिए । दुईतिर कायम महानिर्देशकको कार्यालय बाहिर एक एक वटा गाडी स्ट्याण्डबाईमा राख्ने गरिएको छ । यसो गर्नुको मुख्य उद्देश्य खेलो फड्कोमा दौडँदा उनी कहाँ छन् भनेर अनुमान गर्न नसकोस् भन्ने ध्येयले काम गरेको कर्मचारीहरु बताउँछन् ।

अस्ति दिउँसो आईटी शाखाका कर्मचारीहरुलाई बोलाएर उनले कडा निर्देशन दिँदै भनेका थिए, ‘आजदेखि प्राधिकरणका कुनै पनि कम्प्युटर र इन्टरनेटमा अनलाइन न्यूजपोर्टल नखुल्ने बनाउनुस् । भरेदेखि खुलेको पायो भने कारवाहीको भागिदार बन्नुहुने छ ।’ सोही दिनदेखि प्राधिकरणका कुनै पनि कम्प्युटरमा अनलाइन न्युज पोर्टलहरु बन्द भएका छन् । कर्मचारीहरुले भने आफ्नो मोबाइलमा डाटा अन गरेर हेर्ने गरेको पाइएको छ ।

अस्ति शुक्रबार नै उनले सेफ्टी विभागका चार जना वरिष्ठ कर्मचारीलाई बोलाएर विदेश भ्रमण र विदेशी पाहुनाको आगमनबारे लामै ब्याख्या गरेका थिए । श्रीलंकाको कोलम्बोमा इयुले राखेको कार्यक्रममा यता विदेशी पाहुना आउने भएकाले आफू जान नसक्ने भन्दै उनी अख्तियारको नियमित बयानका कुरा छल्न उध्यत रहेको बताइन्छ । भोलिदेखि शुरु हुने तीन दिने एअर सेफ्टीसम्बन्धी प्रोग्राममा टोली आज प्रस्थान गर्ने कार्यक्रम छ । 

‘आजदेखि प्राधिकरणका कुनै पनि कम्प्युटर र इन्टरनेटमा अनलाइन न्यूजपोर्टल नखुल्ने बनाउनुस् । भरेदेखि खुलेको पायो भने कारवाहीको भागिदार बन्नुहुने छ ।’

महानिर्देशकसहित सेफ्टी स्टाण्डर्ड विभागका प्रमुख तथा १२ औं तहकी नवीना कर्माचार्य,राजु श्रेष्ठ र मुकुल मिश्रालाई केही दिनअघि त्यहाँ जान मनोनयन गरिएको थियो । तर अस्ति दिउँसो बोलाएर तीन जनालाई मात्र जान निर्देशन दिएका छन् ।

यता उनै राजुले धेरै अघि दिएको राजीनामा हालसम्म स्वीकृत गरिएको छैन । उनी नेपालको जागीर छाडेर आइकाओमा जान लाग्दै थिए । राजीनामा स्वीकृत नगर्ने तर वैदेशिक तालिममा हाल्ने अधिकारीको पारा अचम्मलाग्दो देखिएको छ ।  

शुक्रबार अधिकारीले भनेका थिए, ‘यता उच्चस्तरीय विदेशी पाहुना आउँदैछन् । म जान नमिल्ने भो, तपाईंहरु जानुस्,’तर,टोलीका सदस्यहरुले जवाफमा भने, ‘डिजी नै नगएपछि खल्लो हुन्छ सर,हामी पनि जाँदैनौं ।’ स्रोतका अनुसार यता अख्तियारले नियमित बयानका लागि पत्र काटेकाले उनले तत्काल विदेश उड्न मिल्ने अवस्था देखिँदैन । आफ्ना कर्मचारीलाई बयानको लागि विदेश जान नमिल्ने बताउँदा वास्तविकता खुल्ने डरले उनले ‘पाहुना टोली’ को हवाला दिएका हुन् । ‘यो कर्मचारीको आँखामा छारो हाल्न खोजिएको हो,’ प्राधिकरणका एक जना उच्च कर्मचारीले बताए ।

यसअघि आयोगको ६ नम्बर पिल्लरमा बयान दिने अधिकारी अस्ति २ नम्बरमा हाजिर भएका थिए । २ नम्बरले आर्थिक अनियमितताको विषय हेर्ने गर्दछ । तर,प्राधिकरणमा आवश्यक कागजात माग गर्दै पठाइएका आयोगका अधिकांश पत्र २ र ९ नम्बर पिलरबाट जाने गरेको पाइएको छ । २ नम्बर पिलर आयुक्त किशोर सिलवाल मातहतको हो ।

टिप्पणीहरू