कायाकिङ : विदेशमा लोकप्रिय, स्वदेशमा छायाँमा

कायाकिङ : विदेशमा लोकप्रिय, स्वदेशमा छायाँमा

- निरोज चौलागाईं 

जल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित कायाकिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोसी नदीमा सम्पन्न भएको छ । हिजोदेखि भएको प्रतियोगितामा चार विधा छुट्टाइएको थियो । 

रिभर डाउन रेसमा ६ किलोमिटरको यात्रा पूरा गरेर सुरेन्द्र माझी प्रथम भए ।  प्रमोद गुरुङ दोश्रो स्थान बनाउन सफल भए भने अर्का प्रतिस्पर्धी कृष्ण खड्काले तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै हेड टु हेडमा प्रमोद गुरुङले प्रथम स्थान बनाएका छन् । विक्रम गुरुङ प्रतिस्पर्धामा दोस्रो भए भने कृष्ण खड्का तृतीय स्थानमा सीमित भए ।  

अर्को विधा स्प्रीन्टमा कृष्ण खड्का पहिलो बने, प्रमोद गुरुङले आफूलाई दोश्रो स्थानमा खुम्च्याए भने विक्रम गुरुङ प्रतिस्पर्धामा तृतीय भएका छन् । सललाम प्रतियोगितामा विक्रम गुरुङले पहिलो स्थान बनाउँदा मनोज सुनुवारले दोस्रो र सन्दीप कुमालले तृतीय स्थान ओगटेका छन् ।

  

प्रतियोगितामा ३२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये तीन जना महिला हुन् । महिलामध्ये अनिता कार्कीले चार विधामा एक हजार अंकसहित प्रथम स्थान बनाउन सफल भइन् । पविता मगर आठ सय ९३ अंकसहित दोस्रो बनिन् भने सम्झना माझी ८ सय ८७ अंक ल्याएर तृतीय भएकी छन् ।  

त्यस्तै पुरुषतर्फ समग्रमा प्रमोद गुरुङले ८ सय ८० अंकसहित प्रथम भएकी छन् । त्यस्तै चार विधामै प्रतिस्पर्धा गरेका सुरेन्द्र माझीले दोस्रो स्थान बनाउँदा  अर्का खेलाडी विक्रम गुरुङ तृतीय भएका हुन् । 

खेलमा समय, प्राविधिक र अनुशासनको आधारमा मूल्यांकन हुने गरेको  भोटेकोसी एड्भेन्चर क्लबका अध्यक्ष रविन श्रेष्ठले बताए । 

भोटेकोसी  एसियाकै सातौं स्थानमा पर्ने भएकाले र्‍याफ्टिङ तथा कायक गाइडलाई विदेशमा छुट्टै मान्यता दिइँदै आएको आयोजकले जनाएको छ ।  पुरस्कार वितरण कार्यक्रममा र्याफ्टिङ एसोसिएसनका महासचिव नारायण  श्रेष्ठले भने, ‘भोटेकोसीमा भएको यो वर्षको कायाकिङ प्रतिस्पर्धा सँधैझैं सुकुटेमा रहेका रिसोर्टहकोे आर्थिक सहयोमा भएको हो । सबैको ध्यान भलिबल, फुटबल, ब्याटमिन्टनना भएकाले यो खेललाई कसैले सहयोग गरेका छैनन् ।’

भोटेकोसीमा र्‍याफ्टिङगाइड तथा कायकिङ गरेकालाई विदेशमा मान्यता दिने भएकाले राज्यले यस क्षेत्रमा बजेट छुट्याउनुपर्ने उनको धारणा छ । प्रतियोगितामा सिन्धुपाल्चोक, नुवाकोट र धादिङका रिभर गाइडहरुको सहभागिता  थियोे ।  पहिलो, दोस्रो र तेस्रो भएका खेलाडीलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । हिजो र आज भएको खेल राष्ट्रियस्तरको रहेको आयोजक क्लबले जनाएको छ ।

टिप्पणीहरू