यसकारण चुलियो युरोपमा नेपाली चलचित्र र कलाकारको चर्चा

यसकारण चुलियो युरोपमा नेपाली चलचित्र र कलाकारको चर्चा

१० वर्ष अघिसम्म नेपाली चलचित्रमा एउटा परम्परागत सोच हावी थियो । राम्रो अनुहार र आकर्षक शरीर हुनेलाई हिरो वा हिरोइन बनाउनै पर्ने । यद्यपि अहिले पनि चलचित्रलाई कमर्सियल बनाउन तारे होटलहरुमा छायाङ्कन गरेर फ्यान्टासी दृश्य प्रस्तुत गरिन्छ । यति मात्र होइन, छायाङ्कनकै लागि महंगा गाडी, घर, ब्राण्डेड पोशाकहरु प्रयोग गरिन्छन् । जुन दृश्य वास्तविकताभन्दा शतप्रतिशत फरक हुन्छन् । यस्ता चलचित्र प्रायः दुई–चार दिन हलमा लाग्छन् र एकाएक गायब हुन्छन् । 

तर, यही भीडमा केही यस्ता निर्देशक र कलाकारहरु पनि छन्, जो चलचित्रमा आकर्षक दृश्यलाई भन्दा कथा र अभिनयलाई प्राथमिकतामा राखेर काम गर्छन् । उनीहरुको चलचित्रले दर्शकलाई यति सुक्ष्म रुपमा प्रभाव पार्छन् कि मस्तिष्कले वर्षौंसम्म सम्झिरहन्छ । 

यस्तै रियालिस्टिक आर्टका पर्याय हुन्, निर्देशक मीनबहादुर भाम । अहिले उनको चलचित्र ’शाम्बाला’ले युरोपमा राम्रै चर्चा पाएको बताइन्छ । निर्देशक भामसहित शाम्बालाका केही कलाकारहरु जर्मनीमा छन्, फेस्टिभलको निम्ति । निर्देशक भामलाई बधाई र शुभकामना दिनेहरुको लामै लाइन देखिन्छ । 

इतिहासमा पहिलो पटक नेपाली चलचित्रले बर्लिन फस्टिभलमा विश्व प्रिमियर गर्ने मौका पाउनु आफैँमा ठूलो उपलब्धि हो । ’शाम्बला’का कलाकारले पहिलो पटक नेपालबाट बर्लिनको रेडकार्पेटमा हिँड्ने सुनौलो अवसरसमेत पाएका छन् ।

’शाम्बाला’ले हलिउड र बलिउडका चर्चित कलाकारहरुलाई समेत आकर्षित गरेको छ । बलिउडका भेट्रान अभिनेता नवाजुद्दिन सिद्दिकीले भामलाई भेटेरै शुभकामना दिएका छन् । भेटमा उनले नेपालमा स्तरीय चेतनासहितको चलचित्र बनेकोमा निकै प्रशंसा गरेका हुन् । 
नेपाली चलचित्रको तुलनामा बलिउडको बजार निकै ठूलो छ । त्यही बजारका सार्वधिक अब्बल कलाकार सिद्दिकीबाट प्रशंसा पाउँदा भामले पनि खुशी व्यक्त गरेका छन् । अहिले पाएको बधाई र शुभकामनाले आफूलाई आगामी दिनमा नयाँ दृष्टिकोणबाट चलचित्र बनाउन प्रोत्साहन मिलेको उनले बताए ।

’शाम्बाला’मा हिमाली भूगोलकोे कथा प्रस्तुत गरिएको छ । व्यापारका लागि ल्हासा गएका टासी (श्रीमान्) हराउँछन् । लामो समयसम्म पनि घर नफर्केपछि गर्भवती पेमा (श्रीमती) चिन्तित हुन्छिन् । त्यसपछि उनी आफैँ टासीको खोजीमा निस्किन्छिन् । यात्रा क्रममा उनले भोगेका दुःख, कष्ट र हण्डरलाई हृदयविदारक ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ । 

चलचित्रका कारण निर्देशक भामसँगै कलाकारहरु थिन्ले ल्हामो, सोनम तोप्देनलगायतको पनि चर्चा चुलिएको छ । यसअघि भामले नै निर्देशन गरेको चलचित्र चिसो वर्ष (अ इयर अफ कोल्ड) ले पनि ७५ हजार युरोको पुरस्कार जितेको थियो । जुन रकम सरदर एक करोड तीन लाख नेपाली रुपैयाँ बराबरको हो । 

को हुन् भाम ? 

२०४२ सालमा मुगुमा जन्मिएका भाम चलचित्रको बजारलाई भन्दा कन्टेन र प्रस्तुतीमा ध्यान दिने अब्बल निर्देशक मानिन्छन् । १५ वर्षको उमेरमा एसएलसी सकेर पहिलो पटक काठमाडौं आएका उनले राष्ट्रिय नाचघरमा अभिनय सिक्न थाले । 

नेपालमा नाटक फस्टाउँदै गर्दा ‘कर्णाली दख्खिन बग्दो छ’ मा उनले कलाकार भएर काम गरे । जुन, नाटकले व्यापक चर्चा पायो । त्यसपछि ’बाँसुल्ली’ नामक एक छोटो चलचित्र बनाए, त्यो पनि भेनिस फिल्म महोत्सव छनोट भयो । 

भामको ’कालो पोथी’ पूर्णतः मुगुको कथामा आधारित रियालिस्टिक फिल्म थियो । उक्त चलचित्रले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय अर्वाड पायो । त्यसपछि निर्देशक भाम एकाएक चर्चामा आएका हुन् ।

टिप्पणीहरू