जुन सिनेमाको शोमा केपी ओलीसमेत देखिए

सुन्नुहोस्

निर्माता तथा निर्देशक मिलन चाम्सले बनाएको चलचित्र जस्तोसुकै होस्, तर प्रचार भने उधुमै हुन्छ । उनका चलचित्रहरुको नाम,पोस्टर,टिजर,ट्रेलर वा गीतहरु अक्सर तारे होटलहरुमा रेड कार्पेट तयार पारेर सार्वजनिक गरेको पाइन्छ । प्रिमियरमा नेताहरुलाई बोलाएर दुई-चार शब्द बोल्न लगाउन चाम्स माहिर छन् । 

हिजो पनि त्यस्तै भयो, सिटी सेन्टरको बिग मुभिजमा । भोलि शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र 'गोर्खा वारियर'को हिजो साँझ प्रिमियर शो थियो । त्यो पनि रेडकार्पेटसहितको । शोमा नेपाली चलचित्र क्षेत्रका हस्तीहरु मात्र होइन,राजनीतिक दलका नेतासमेत देखिए ।

 

रमित ढुंगानाको नमेटिएको घाउबाट चलचित्रमा डेब्यु गर्न लाग्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रिमियर शोको रेड कार्पेटमा देखिएपछि सबै कलाकारहरुले साइड लागेर बाटो दिए । पत्नी राधिका शाक्यसहित उहाँ त्यहाँ देखिएपछि पत्रकारको क्यामेरा कलाकारतिरभन्दा ओलीतर्फ घुमेको थियो ।

 

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पूर्वपञ्चहरुको पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पनि प्रिमियरमा पुगेका थिए । 

सन् १९४९ मा मलायाको जङ्गलमा गोर्खा सैनिकले लडेको लडाइँको कथालाई प्रस्तुत गरिएको चलचित्रमा रितेश चाम्स, विजय लामा,रेविका गुरूङ, सुरज तमु, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता सुस्मिता वाइबा र सुमन राई हुन् भने कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् ।

 

महङ्गो लगानीमा निर्माण गरिएको यस चलचित्रले कत्ति कमाउँछ,त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।

टिप्पणीहरू