अर्को ठूलो काण्डको खबर आउँदै

अर्को ठूलो काण्डको खबर आउँदै
सुन्नुहोस्

सत्ता र शक्तिको दुरूपयोग गर्दै राज्यको सम्पत्तिमाथि गम्भीर खेलबाड गरिएको अर्को विषय छ, ललिता निवास प्रकरणजस्तै । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) त्यस्तो घटनालाई उधिन्नका निम्ति अहोरात्र लागिपरेको छ । 

यद्यपि, उक्त घटनाको विवरण, संलग्न व्यक्ति र कारोबारको श्रृंखलालाई हालसम्म सार्वजनिक गरिएको छैन । सिआइबीस्रोतका अनुसार, राष्ट्रिय राजनीति नै तरंगित हुने उक्त प्रकरणमाथि अन्तिम तहको अनुसन्धान चलिरहेको छ । 

उता, तपस्वी रामबहादुर बमजन पक्राउ परेपछि नयाँ–नयाँ घटना र सन्दर्भको खुलासा हुने क्रम जारी छ । मानव हिंसा र चारित्रिक संदिग्धतासँगै अकुत सम्पत्तिका विषयमा पनि छानवीन अगाडि बढ्ने भएको प्रहरीस्रोतले जनाएको छ । उनले टोयोटा कम्पनीको गाडी खरिद गर्नका लागि शोरुमसँग पाँच करोड १६ लाख रूपैयाँमा कुरा टुंग्याएर चार करोड ८९ लाख रूपैयाँ पेश्की दिइसकेको बुझिएको छ ।

बाँकी रकम गाडी लैजाने बेलामा दिने सहमति थियो । तर, प्रहरीको फन्दामा पर्नाले सबै योजना चकनाचुर भएको छ । उक्त गाडी ललितपुरको बुङ्मति निवासी पनित महर्जनको नाममा बुक गरिएको थियो । पनित पेशाले फोटोग्राफर हुन् । बमजनको धार्मिक अभियान समितिमा सदस्य पनि छन् । 

उनी पक्राउ परेको बूढानीलकण्ठस्थित घर पनि उनकै थियो । इन्द्रबहादुर तामाङको नाममा पुर्जा जारी भएको उक्त घर ६ आना क्षेत्रफलमा चार तलाको छ । प्रहरीले पक्राउ गरेपछि सोधेका थुप्रै प्रश्नहरूको जवाफ दिन बमजनले अस्वीकार गर्दै आएका छन् । घर, गाडी र पैसाको स्रोतबारे निरन्तर प्रश्न गर्दा उनको एउटै भनाइ छ, ‘म ध्यान गरेर बस्ने मान्छे, बाहिरको कुरा थाहा हुँदैन । कताबाट के आउँछ, मलाई के थाहा ?’ 

अनुसन्धानरत प्रहरीका अनुसार, बमजनको सबभन्दा बढी आशक्ति युवतीप्रति थियो । केटा मान्छेले भित्री कुरा थाहा पाएपछि ‘बोक्सो’ को आरोप लगाएर कुटपिट गरेको र त्यसक्रममा केहीले ज्यान गुमाएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ । उनी मदिरासहित अन्य कुलतमा भने थिएनन् । शुरुवाती समयमा निष्ठापूर्वक नै ध्यानमा बसे । त्यसबेला उमेर कम थियो । उमेरको विकाससँगै युवतीप्रतिको आकर्षण बढेको प्रहरीको अनुमान छ । 

उता, प्रहरीले कञ्चनपुरस्थित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणलाई प्राविधिक र भौतिक पक्षबाट अध्ययन गर्दै अनुसन्धानलाई निश्कर्षमा पु¥याउने गरी काम अगाडि बढाएको बुझिएको छ ।
 

टिप्पणीहरू