भेष सक्कली, मान्छे नक्कली

भेष सक्कली, मान्छे नक्कली
सुन्नुहोस्

चीनबाट एमबीबीएस अध्ययन पूरा गरेपछि महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा कार्यरत रहेको बताउँदै विगत तीन वर्षदेखि उपत्यकाका विभिन्न पोलिक्लिनिकमा उपचार गर्दै आएका थिए, डाक्टर सम्बुद्ध भट्टाचार्य ।

उनको साथमा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स पास गरेको प्रमाणपत्रसँगै टिचिङ हस्पिटलको एनएमसी कार्डसमेत थियो । तर, उनको त्यो प्रमाणपत्र नै नक्कली प्रमाणित भएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र र परिचय बनाएर पोलिक्लिनिकलाई भ्रममा पारेर बिरामीको उपचार गरिरहेको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीमाथि निगरानी राखेको थियो । 

सोही क्रममा उनलाई आइतबार अपरान्ह ४ बजे बसुन्धारास्थित धौलागिरी हिमाल पोलिक्लिनिक प्रालिबाट टोलीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा उनले प्रयोग गरेको ‘एनएमसी एनओ’ उल्लेखित प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलबाट जारी नै नभएको भेटिएको प्रहरीको भनाइ छ । 

मोरङको विराटनगर उपमहानगरपालिका–२ घर भई हाल काठमाडौंको महाराजगञ्ज बाँसबारी बस्दै आएका ४० वर्षीय भट्टाचार्यमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । उनीमाथि उपचार र लिखतसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर, काठमाडौंले आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाएको हो । 

मोरङका विभिन्न स्थानमा डाक्टर हुँ भन्दै क्लिनिक सञ्चालन गरेका दुई जना नक्कली चिकित्सकलाई गत वैशाख १३ गते प्रहरीले यसैगरी पक्रेको थियो । पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बर्मनले शनिश्चरे नगरपालिका–१ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएका थिए । मण्डलले भने सुन्दरहरैचा नगरपालिका–३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएको बताइएको छ । 

उनीहरु दुवैले नेपाल मेडिकल काउन्सिलबाट अनुमतिपत्र प्राप्त नगरेको प्रहरीको भनाइ छ । क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

यातायात व्यवस्था कार्यालय, बागलुङबाट स्वास्थ्य परीक्षणका लागि तोकिएको शंकर पोलिक्लिनिकबाट पनि गत वर्ष दुई जना नक्कली डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । धादिङका राम अर्याल र नवलपुरका गणेश भण्डारीले व्यवस्थापन संकायको विद्यार्थी भए पनि डाक्टरको काम गरेको अवस्थामा पक्राउ परेका हुन् । 

पोलिक्लिनिकमा चिकित्सक अनुपस्थित भएको मौकामा उनीहरुले निरोगिता प्रमाणपत्र वितरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । 

यता, दन्त चिकित्सक हुँ भन्दै नक्कली चिकित्सक सञ्जयसिंह महतोले दाँत उखेल्दा धनुषाको मिथिला नगरपालिका–९ की १९ वर्षीया रानी सिंहको अत्यधिक रगत बगेर केही वर्षअघि मृत्यु भयो । दाँतका नक्कली डाक्टर उनले महोत्तरीको बर्दिबासमा साझा डेन्टल प्राइभेट लिमिटेड खोलेका थिए । सोही क्रममा उपचार गर्न पुगेकी सिंहको दाँत उखेल्दा मृत्यु भएपश्चात् उनी फरार भए । फरारको दुई वर्षपछि २०७८ चैत ११ गते पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ सालमा नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गर्न ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । जसअन्तर्गत ०७३ असार ४ गते २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ परेका थिए । त्यस्तै, ०७८ वैशाख ६ गते पनि सीआईबीले मुलुकका विभिन्न अस्पतालमा कार्यरत सात जना नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएको थियो ।

समाजले सर्वाधिक सम्मान गर्ने पेशामध्ये एक हो, चिकित्सा । डाक्टरी पेशालाई अत्यन्त संवेदनशील पेशाको रुपमा लिइन्छ । दक्ष र पेशाप्रति समर्पित चिकित्सकले स्वस्थ्य समाज निर्माणमा अतुलनीय योगदान पुर्याइरहेका हुन्छन् । 

तर, हरेक बिरामीले विश्वास र भरोसा गर्ने चिकित्सा पेशा केही वर्षदेखि ‘नक्कली डाक्टर’ का कारण बदनाम समेत बन्दै गएको छ । आम सर्वसाधारणले भगवान्सरह विश्वास गरेका डाक्टर नै नक्कली भएको घटनाले समग्र चिकित्सा पेशाप्रति नै जनमानसको हेर्ने दृष्टिकोण फरक हुँदै गएको छ ।  

नक्कली डाक्टरका कारण सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड भइरहेको घटना सार्वजनिक भइरहँदा नागरिकले चिकित्सकमाथि गर्ने विश्वासमा समेत संकट पैदा भएको छ । पछिल्लो समय देशभर डाक्टरको लापरबाहीका घटना बढ्दै गएका छन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएपछि बेलाबखत अस्पताल र क्लिनिकहरुमा तनाव हुने गरेको छ ।

सक्कली डाक्टरको भेषमा नक्कलीको गिरोह सक्रिय हुनु र यस्ता डाक्टरबाट बिरामीको उपचार गरिँदा नतिजा कस्तो आउला ? नक्कली डाक्टरबाट बिरामीको उपचार हुनु स्वास्थ्यप्रति नै गम्भीर खेलबाड भएकाले प्रहरीले त्यस्ताको खोजी गरेर पक्राउ गर्दै आएको बताएको छ । 

तर, सरकारले पर्याप्त ध्यान नदिँदा गैरकानूनी काम गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी चिकित्सा क्षेत्रमा आकर्षण बढेसँगै नक्कली डाक्टरहरुको बिगबिगी देखिएको बताउँछन् । 

उनले भने, ‘अहिले चिकित्सा शिक्षाप्रतिको आकर्षण बढ्दो छ । हरेक अभिभावक आफ्ना बालबालिकालाई डाक्टर बनाउन चाहन्छन् । अभिभावकको दबाबमा बालबालिकाहरु पढ्न त पढ्छन् । तर, पछि लाइसेन्स परीक्षा पास गर्न नसकेपछि कतिपयले नक्कली प्रमाणपत्र बनाउँछन् ।’

त्यस्तै, कतिपयले भने चिकित्सा पेशामा मनग्य आम्दानी हुने देखेर ठगी गर्ने मनासायका साथ यस्तो प्रमाणपत्र बनाउने गरेको उनको बुझाइ छ । बुढाथोकीले चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) नेपाल मेडिकल काउन्सिलले प्रदान गर्दै आइरहेकोले यससम्बन्धी अनुगमन पनि काउन्सिलले नै गर्ने बताए । 

नक्कली चिकित्सकका कारण समग्र चिकित्सा क्षेत्रमाथि नै नकारात्मक प्रभाव पर्दै गएको नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारी बताउँछन् ।  सरकारी निकायले यसप्रति आवश्यक निगरानी गर्न जरुरी रहेको उनको ठहर छ । 

‘अरुलाई ठगी र आयआर्जन गर्ने उद्देश्यले नक्कली लाइसेन्स बनाएर आफुलाई डाक्टर बताउनेहरु अहिले बढ्दै गएका छन्,’ उनले भने, ‘स्वास्थ्यजस्तो आधारभूत र संवेदनशील क्षेत्रमा यस्तो हुनु दुःखद् हो ।’ 

‘नक्कली डाक्टरका कारण योग्य र मेहेनती चिकित्सकहरु ओझेलमा पर्ने देखिएको छ । आमनागरिकको स्वास्थ्यमाथि पनि खेलबाड भइरहेको छ । सरकारी पक्षले यसप्रति निगरानी बढाउनुपर्छ । स्वास्थ्य क्षेत्रमाथि आम सर्वसाधारणको विश्वास घट्न दिनुहुन्न,’ उनले थपे । 

महासचिव तिवारीले सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने समेत बताए । यता, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.विश्व दवाडी चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पास भएकालाई मात्र काउन्सिलले लाइसेन्स वितरण गर्ने गरेको बताउँछन् ।

उनले एमबीबीएस र एमडी पूरा गरेका मात्र काउन्सिलको सदस्य रहेको समेत जानकारी दिए । ‘काउन्सिलले सदस्य बनाउँदा र लाइसेन्स वितरण गर्दा सम्पूर्ण कागजात अध्ययन गर्ने गरेको छ । कुनै शंका लागेमा त्यसमाथि तत्काल छानबिन गरिन्छ । छानबिनबाट दोषी नदेखिए मात्र सदस्य बनाइन्छ । र, लाइसेन्स दिइन्छ,’ उनले भने ।

काउन्सिलबाट लाइसेन्स प्राप्त गरेका कुनै पनि चिकित्सकको हालसम्म नक्कली शैक्षिक प्रमाणपत्र फेला नपरेको रजिष्ट्रार दवाडीको दाबी छ । केही वर्षयता मुलुकका केही अस्पताल, क्लिनिक, मेडिकलमा सक्कली डाक्टरको भेषमा नक्कली डाक्टरको बिगबिगी बढेकोले त्यस्तो गैरकानूनी काम गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन काउन्सिलले नेपाल प्रहरीलगायत सम्बन्धित निकायलाई आवश्यक साथ, सहयोग समेत गर्दै आएको जानकारी दिए ।

टिप्पणीहरू