कोभिडविरुद्ध खोप कार्यक्रम पुनः सञ्चालन गरिँदै

कोभिडविरुद्ध खोप कार्यक्रम पुनः सञ्चालन गरिँदै

कैलालीको घोडाघोडी नगरपालिकाले कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाका सबै वडामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । भोलिदेखि माघ १२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म खोपको समय तोकिएको केन्द्रमा खोप लगाइने नगरपालिकाले जनाएको छ । 

१२ वर्षभन्दा माथिका हालसम्म एक डोज पनि खोप प्राप्त नगरेका वा थप डोज नलगाएका साथै अतिरिक्त मात्रासमेत लगाउन आवश्यक रहेका व्यक्तिहरुलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाको भनाइ छ । 

‘तपसिलका खोप केन्द्रहरुमा १२ वर्षदेखि माथि उमेर समूहका खोप लगाउन छुट भएका व्यक्तिहरुलाई फाइजर बायोभ्यालेन्ट खोप लगाइने भएकोले पहिलो–दोस्रो मात्रा तथा पहिलो–दोस्रो बुस्टर मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइने भएकोले सम्बन्धित सबैलाई आ–आफ्नो नजिकको पायक पर्ने खोप केन्द्रहरुमा गई खोप लगाई सुरक्षित हुन जानकारीका लागि अनुरोध छ’, सूचनामा उल्लेख छ । 

पछिल्लो समय छिमेकी मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्ट ‘जेएन वान’ देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ ।
 

टिप्पणीहरू