अयोध्यामा प्राण–प्रतिष्ठापछि नेपालगञ्जमा झडप, नौ जना गम्भीर घाइते

अयोध्यामा प्राण–प्रतिष्ठापछि नेपालगञ्जमा झडप, नौ जना गम्भीर घाइते

भारतको उत्तरप्रदेशस्थित राम मन्दिरमा रामको मूर्तिमा प्राण–प्रतिष्ठा गरेपछि नेपालगञ्जमा दुई समूहबीच झडप भएको छ । हिजो साँझ ६ बजेको समयमा भएको झडपमा नौ जना सख्त घाइते भएका छन् ।

बाँकेको डुडुवा गाउँपालिका १ स्थित पिप्रहवामा भारतको अयोध्यामा भएको भगवान श्रीरामको मूर्तिमा प्राण प्रतिष्ठापछि झडप भएको हो । सो अवसरमा नेपालगञ्जमा निकालिएको शोभायात्राका सहभागीहरु घर फर्कने क्रममा हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरुबीच ढुंगामुढा भएको बताइन्छ । 

हिन्दू समुदायका युवाहरुले घर फर्कने क्रममा आतसबाजी गरेपछि मुस्लिम समुदायका केही व्यक्तिले पटका पट्काएको विषयलाई लिएर विवाद निकालेको प्रहरीको भनाई छ । झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायव उपरीक्षक नारायण डाँगीको कमाण्डमा छ जनाको टोली त्यता गएको थियो । 

प्रहरीको गाडीमा ढुंगामुढा गरेपछि तीन जनालाई नियन्त्रणमा लिइएको छ । झडपमा घाइते भएका तीन जनालाई स्थानीय नर्सिङ होममा उपचार गराइएको छ । डुडुवा गाउँपालिका १, प्रिपहवाका २५ वर्षे मुकेश बर्मा, बेतहनीका २३ वर्षे लवकुश चौहान र सन्तरियाका ४५ वर्षे लक्षमण तेलीको उपचार भएको छ । तेलीको गोडा भाँचिएको छ भने अरु दुई जनाको टाउको र निधारमा चोट लागेको अस्पतालले जनाएको छ ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनामा र्यालीबाट फर्कने क्रममा भएको ढुंगामुढामा छ जना घाइते भएका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । उपचाररत घाइतेहरुमा ३१ वर्षकी रिना पासी, जगु धोबी, रामचन्द रहिदास, माया पासी, पियारी बर्मा र नन्कै पासी हुन् ।
 

टिप्पणीहरू