राजधानीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

राजधानीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी
सुन्नुहोस्

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण आगामी चैत १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौं संस्करण हुन लागेको हो । 

संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्रहरु सञ्चालन हुने बताइएको छ । विश्वका ६० देशबाट प्राप्त ५ सय बढी चलचित्रमध्ये निफले सातौं संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष के.पी पाठकले बताए । 

फेस्टिभललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरिएको छ । दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने उनले बताए । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ । 

यो वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरमा प्रदर्शन हुनेछन् । मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो वर्षबाट एकै समयमा अन्य प्रदेशमा पनि महोत्सवलाई बिस्तार गर्न लागिएको छ ।

महोत्सवमा सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलवित्रलाई पाँच सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । 

यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । सर्ट फिल्ममध्येवाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छाँयाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

टिप्पणीहरू