सामाजिक सञ्जालमा 'मोय मोय' कसरी भयो भाइरल ?

सामाजिक सञ्जालमा 'मोय मोय' कसरी भयो भाइरल ?

यदि तपाई सामाजिक सञ्जाल प्रयोगकर्ता हुनुहुन्छ भने, कतै न कतै देखेको हुनुपर्छ 'मोय मोय'को मेलोडी ।  खासगरी पछिल्लो समय 'मोय मोय' मेलोडीमा बनेका भिडियो मिम्स र रिलबारे थाहा नपाउने युवा-युवती सायदै भेटिएलान् । 

किनभने 'मोय मोय' सन् २०२३ मा सबैभन्दा चर्चित मिम्स मेलोडी बनेको छ । निराशजनक होस् वा खुशी अभिव्यक्त भएको । हाँस्य व्यंगात्मक होस् वा रोदनका । राजनीतिक कटाक्षका होस् वा सामाजिक विषयका । जस्तोसुकै मिम्स होस्, अन्त्यमा आइहाल्छ 'मोय मोय' । जसले मिम्स तथा भिडियो रिलहरुलाई भाइरल गराउन ठूलो सहयोग गरेको देखिन्छ । 

तर, सवाल यो छ कि, 'मोय मोय' अर्थ के हो ? यो कुन देशको गीत हो ? कसले गाएको हो ? यसबारे भने कमैलाई मात्र थाहा छ । 

वास्तवमा यो सर्वियन गीत हो । जसको गायिका हुन्- टिया डोरा । झ्वाट्ट यस गीतलाई सुन्दा 'मोय मोय' नै सुनिन्छ, तर गीतको शब्द 'मोजे मोरे' हो । जसको नेपालीमा अर्थ हुन्छ 'मेरो समुन्द्र' । 

डोराको गीति एल्बम 'डि-जानुम' भित्र समावेश भएको यो गित 'जुज्नी भेटार' नामक यूटुब च्यानलबाट ९ महिनाअघि सार्वजनिक गरिएको थियो । शुरुको ३ महिना खासै चर्चा नपाएको यस गीतले १० लाख भ्युज पनि कटाउन सकेको थिएन । तर पछिल्लो दुई महिनायता यति चर्चित भयो कि संसारभरबाट बनाइने मिम्स तथा भिडियो रिलमा यही गीतको मोलोडी नै पहिलो रोजाइ बनिरहेको छ। 

अहिलेसम्म यस गीतलाई ११ करोडभन्दा धेरैले हेरिसकेका छन् । यसको मेलोडीमा करिब २३ करोडभन्दा धेरै मिम्स तथा भिडियो रिलहरु बनेका छन् । 

गायिका डोराले गीतमार्फत् प्रेममा धोका पाएपछि महशुस हुने पीडाहरु व्यक्त गर्न खोजेकी छन् । भिडियोमा आफूले आँखा बन्द गरेर विश्वास गरेका पात्रहरुले कुनै न कुनै मोडमा गएर धोका दिँदा रहेछन् भन्ने आशय नै गीतको समग्र निष्कर्श देखिन्छ । 

संगीतको कुनै भाषा हुँदैन भने झै गीतका शब्दहरु नबुझे पनि दुई शब्द 'मोय मोय' र यसको मेलोडीले संसारभर यसरी चर्चा कमाएको हो। 

त्यस्तै, सन् २०२३ मा दोस्रो सर्वाधिक चर्चित मिम्स बनेको छ, 'इट्स सो ब्युटीफूल, सो एलिगेन्ट, जस्ट लुकिङ लाईक वाउ, जस्ट लुकिङ लाइक वाउ ।' 

खासगरी विश्वभरका महिलाहरुबीच संवादको यो लाइन चर्चित छ । साना बच्चादेखि उमेर ढल्किसकेका वृद्धासम्मले नयाँ पोशाक लगाएर यही वाक्य दोहोराउदै भिडियो रिल बनाएको पाइन्छ । 

यो संवाद सुरुमा भारतबाट भाइरल भएको थियो । नयाँ दिल्लीको फतेनगरमा कपडाको व्यवसाय गर्दै आएकी जस्मिन कौरले दुई महिना पहिले यो संवाद बोलेकी थिइन् । 

'डिजाइन मेशिन मूड कट' नामको एक कपडा पसल सञ्चालन गर्दै आएकी उनले नयाँ कपडाको विज्ञापन गर्ने उद्धेश्यले भिडियो बनाइन् । पहेलो रङको कुर्ता सुरुवाल लगाएकी कौरले काँधको सलवार स्याहार्दै ऐनामा हेरेर भनेकी छन्, 'इट्स सो ब्युटीफूल, सो एलिगेन्ट, जस्ट लुकिङ लाईक वाउ, जस्ट लुकिङ लाइक वाउ ।'

भिडियो बनाउनुको मुख्य उद्धेश्य उनको पसलमा भएका ती कुर्ताहरु बिक्रि गर्नुथियो । तर, जस्मिनले बोलेको यो संवाद यसरी भाइरल भयो कि अहिले कौरको त्यही संवादमा विभिन्न देशबाट १२ करोडभन्दा बढी भिडियो रिलहरु बनेका छन् ।

टिप्पणीहरू