उद्योगहरुमा बिजुली जोडिदिए पुनः काटिदिने कर्मचारी युनियनको चेतावनी
नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले विद्युत महशुल नबुझाएका उद्योगहरुको बिजुली लाइन जोडिएमा पुनः काटिदिने चेतावनी दिएको छ ।
युनियनले आज प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले विद्युत महशुल नबुझाई उद्योगहरुको लाइन जोड्न निर्देशन दिएको बुझिन आएकाले लाइन जोडिएमा पुनः काट्न बाध्य हुने चेतावनी दिएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सम्मानित अदालतलेसमेत विद्युत महशुल असुलउपर गर्न आदेश दिई सकेको अवस्थामासमेत हाल नेपाल सरकारले विद्युत महशुल रकम नबुझाई उद्योगहरुको लाइन जोड्ने निर्देशन दिइएको भन्ने बुझिन आएकोले सो लाइन जोडिएमा हामी पुनः त्यस्ता उद्योगहरुको लाइन काट्न बाध्य हुनेछौं ।’
युनियनले विद्युत महशुल संकलन विनियमावली, २०७८ अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था रहेको उल्लेख गर्दै विद्युत महशुल अविलम्ब भुक्तानी गर्न÷गराउन तथा लाइन काट्न बाँकी रहेका उद्योगहरुको समेत लाइन काटेर नियमानुसार विद्युत महसुल असुलउपर गर्न माग गरेको छ ।
डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत महशुल बक्यौता रकम नियमानुसार असुल उपर गर्ने सन्दर्भमा व्यवस्थापनलाई आइपर्ने हरेक चूनौतीको सामना गर्न तत्पर रहेको युनियनले जनाएको छ । प्राधिकरणका कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
टिप्पणीहरू