माओवादी बैठकमा प्रधानमन्त्रीले भन्नुभयो - २१ औँ शताव्दीको जनवाद लागू गर्दैछु

माओवादी बैठकमा प्रधानमन्त्रीले भन्नुभयो - २१ औँ शताव्दीको जनवाद लागू गर्दैछु
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप आवश्यक रहेको बताउनुभएको छ । 

सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशले संयुक्त रूपमा आयोजना गरेको समीक्षा बैठकमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । नीति निर्माणमा जनताको प्रत्यक्ष नियमन, निगरानी र हस्तक्षेप आवश्यक पर्नेमा जोड दिँदै माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले त्यसलाई २१ औँ शताव्दीको जनवादको नयाँ रुपको संज्ञा दिनुभयो । 

'आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्नेबारे छलफल भएको छ । बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ । आजबाट त्यसको थालनी भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुन्छ, त्यसका आधारमा बजेट बन्छ । यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिहरूको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदैछौं । हामीले २१ औं शताब्दीको जनवादमा भनेका थियौं– राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौं, यो पनि आफैमा त्यसको एक रूप हो', उहाँले भन्नुभयो ।

सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीको भनाई छ । उहाँले भन्नुभयो, ‘सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ। केही नयाँ चीज भएको छ, केही नयाँ रेकर्ड बनेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि त्यस्तै पहल लिइएको छ । यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएको छ । यसमा नै टेकेर आगामी वर्ष थप राम्रो गरिनेछ, यसमा सिंगो पार्टीले सरकारलाई सहयोग गर्नुस् ।’

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले छिटै स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसले पार्टी थप व्यवस्थित बन्ने पनि बताउनुभएको छ । 'पार्टी विधानको मस्यौदा तयार भएको छ । छिटै स्थायी समितिको बैठक बस्छौं र विधान तल्ला कमिटीहरूमा पठाउने निर्णय गर्छौं', उहाँले भन्नुभयो, 'विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्नेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।’

टिप्पणीहरू