छोरीलाई हिरोइन् बनाउन बाबुको करोडौ लगानी

छोरीलाई हिरोइन् बनाउन बाबुको करोडौ लगानी
सुन्नुहोस्

सबैलाई थाहा छ, चलचित्र क्षेत्रको लगानी जोखिमपूर्ण हुन्छ । चले पैसा कमाइन्छ, नत्र डुब्छ । तर, कतिपयले भने प्रसिद्धी कमाउनकै लागि चलचित्रमा लगानी गर्ने गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा यस्तै निर्माताको सूचीमा थपिएका छन्, राजाराम बुढाथोकी । 

करिब ३ करोड लगानी गरेर राजारामले नयाँ चलचित्र बनाएका छन्, 'पर्खिबसे तिमीलाई' । जसमा मुख्य भूमिका उनकै छोरी रक्षा बुढाथोकीको छ । रक्षासँगै किरण श्रेष्ठले पनि डेब्यु गरेका छन् । 

पुष २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको निर्देशन दिपक श्रेष्ठले गरेका छन् । उनले नेपाली सिने क्षेत्रको वास्तविकता झल्किने एउटा टिप्पणी गरेपछि तरंग पैदा भएको छ । उनले हिजो एक कार्यक्रममा भनेका थिए, 'चलचित्रमा नयाँ अनुहार भयो भने हलहरुले शो नै दिन मान्दैनन् ।' 

हुन पनि हो, सधैँ बलिउडका सिनेमाहरुको दबदबा रहने गरेको नेपालमा नाम नचलेका कलाकारले अभिनय गरेका चलचित्रहरुले शो पाउन कठिनाई भोग्दै आएको पाइन्छ । यस्तो अवस्थामा छोरीको लागि ३ करोड लगानी गरेका राजारामले लागानी उठालान त ? भन्ने सबाल निर्देशक श्रेष्ठको टिप्पणीसँग मेल खान्छ । 

त्यसो त, केही अन्य निर्माताहरु भने यस फिल्मले 'पानीसमेत भन्न नपाउने' अड्लबाजी गर्न थालिसकेका छन् । एक जना निर्माताले सामाजिक सञ्जालमै लेखेका छन्, 'पर्खिबसे तिमीलाईले राजारामलाई पर्खाइरहने भो ।' कमेन्टमा विष्णु अधिकारीले लेखेका छन्, 'करोडौ स्वाह भए पनि कमसेकम छोरी हिरोइन बनिहालिन् क्यारे ।' 

यद्यपि चलचित्रबारे पत्रकारले सोधेको 'तपाईँले छोरीलाई हिरोइन् बनाउनको लागि चलचित्रमा करोडौ लगानी गर्नुभएको हो ?' भन्ने प्रश्नमा निर्माता राजारामले भनेका छन्, 'मैले छोरी भएकै कारण लगानी गरेको होइन । मैले उसको प्रतिभामाथि लगानी गरेको हुँ । मेरो छोरीको अभिनय कलालाई मैले नजिकबाट चिनेको छु । उसको म्युजिक भिडियो मोडलिङदेखि अभिनयका कुरालाई बुझेको छु । त्यही कारण अभिनय गर्न सक्छिन् भनेर नै चलचित्रमा भित्र्याएको हुँ ।'

नवनायिका तथा छोरी रक्षाले पनि पिताको बचाउ गर्दै भनेकी छन्, 'उहाँले मेरो रहर देखेर लगानी गर्नुभएको होइन । मेरो प्रतिभालाई उहाँले देख्नुभएको छ । छोरीका लागि लगानी गरेको भनेर बाहिर हल्ला मैले पनि सुनेकी छु । तर, उहाँले मेरो प्रतिभाको सम्मान गर्न लगानी गर्नुभएको हो ।'

बाबुछोरीको यो कामको केमेष्ट्रीलाई दर्शकले कत्तिको मन पराउछन्, त्यो त पुष २७ गतेपछि नै थाहा होला । तर आँखा चिम्म गरेर चलचित्रमा करौडौँ लगानी गर्ने राजारामको आँटलाई चाही मान्नैपर्छ ।

टिप्पणीहरू