रणवीरले 'रियल' श्रीमतीलाई छाडेर 'रिल'की श्रीमतीलाई अंगालो हालेपछि...

रणवीरले 'रियल' श्रीमतीलाई छाडेर 'रिल'की श्रीमतीलाई अंगालो हालेपछि...
सुन्नुहोस्

बलिउड अभिनेता रणवीर कपुरले 'रियल' श्रीमती आलिया भट्टकै सामुन्नेमा 'रिल' श्रीमती रश्मिका मन्दनालाई विशेष प्राथमिकता दिएर अंगालो हालेको भिडियो भाइरल भएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार घटना हिजो शनिबारको हो । मुम्बइस्थित जेडब्ल्यु मेरियट (पाँचतारे) होटलमा चलचित्र 'एनिमल'को 'सक्सेस पार्टी' आयोजना गरिएको थियो । पार्टीमा चलचित्रका सबै कलाकारहरु उपस्थित थिए । मुख्य अभिनेता रणवीर श्रीमती आलिया, आमा नितु कपुर र सशुरा महेश भट्टसँग प्रवेश गरेका थिए । 

त्यसको केही समयपछि अभिनेत्री (जसले चलचित्रमा रणविरको श्रीमतीको भूमिका निभाएकी छन्) रश्मिका मन्दना पार्टीमा पुगिन् । रश्मिका पुग्नेबित्तिकै श्रीमती आलियाको हात छाडेर रणवीर उनलाई स्वागत गर्न मुख्य गेट (जहाँ फोटोशेसन चलिरहेको थियो) मा पुगेको भाइरल भिडियोमा देखिन्छ । त्यतिबेला त्यहाँ उपस्थितमध्ये आधाको ध्यान रणवीर र रश्मिकाको अंगालोमा जान्छ भने आधाको ध्यान यता अलग्गै उभिरहेकी आलियातर्फ । 

यो दृश्य कैद भएको भिडियो क्लिपलाई लिएर यतिबेला भारतीय सञ्चार माध्यममा गसिप बनिरहेको छ । 

पार्टीमा चलचित्रभित्र रणवीरको अवैध प्रेमिका बनेर रोमान्स गरेकी अभिनेत्री तृप्ति डिमरीको पनि उपस्थिति थियो । पत्रकारहरुले रणवीरलाई सोधेका छन्, 'वास्तविक जीवनकी श्रीमती, नाटककी श्रीमती र नाटककी अवैध प्रेमिकासँग एकैठाउँमा उपस्थित हुँदा कस्तो महशुस भइरहेको छ ?' 

हाँस्दै उनले जवाफ दिएका छन्, 'आज यो क्षण यसकारण आयो कि हाम्रो चलचित्र सफल भयो । चलचित्र सफल नभएको भए यो दुर्लभ क्षण आउदैनथ्यो । फेरि उहाँहरु सबैले कडा मेहनत नगरेको चलचित्र सफल बन्दैनथ्यो । यसर्थ, यो हामीले गरेको दुःखको थोरै फल पाएका छौँ।' 

त्यसो त उक्त 'सक्सेस पार्टी'मा अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । अभिनेता रितेश देशमुख, जेनेलिया डिसुजा, रविना तण्डन, तमन्ना भाटिया, सुनिल सेट्टी लगायतका सेलिब्रेटीहरु पनि पार्टीमा पुगेर सबैलाई बधाइ दिएका छन् । 

गत डिसेम्बर १ बाट विश्वभर रिलिज भएको चलचित्र 'एनिमल'ले ८ सय करोडभन्दा बढी कलेक्शन गरिसकेको छ । सन्दिप रेड्डी भांगाद्धारा निर्देशित चलचित्र 'एनिमल'बाट बबि देओलको कमब्याक (अबरार भूमिका)लाई दर्शकले खुब रुचाएका छन् । त्यस्तै, 'भावी नं २' अर्थात तृप्ति डिमरी पनि उनले दिएका हट सिनको कारण निकै चर्चामा छिन् । 

चलचित्रका केही रेकर्डहरु यस्ता छन्ः 

१) बलिउडमा रिलिजको दोस्रो हप्तामा सबैभन्दा बढी पैसा कलेक्शन गर्ने चलचित्र  

२) बलिउडमा सबैभन्दा बढी कमाउने 'ए रेटेड' चलचित्र  

३) रणवीर कपुरको करिअरकै सबैभन्दा बढी कमाउने चलचित्र  

४) बलिउडकै इतिहासमा पहिलो हप्तामा सबैभन्दा धेरै कमाउने तेस्रो चलचित्र

टिप्पणीहरू