जाडोमा कोठाभित्र निस्सासिएर ज्यान गुमाउनेको संख्या बढ्दो

जाडोमा कोठाभित्र निस्सासिएर ज्यान गुमाउनेको संख्या बढ्दो
सुन्नुहोस्

केही दिनअघि काभ्रेपलाञ्चोकमा हिटर र फलामको कराईमा आगो बालेर सुत्दा पूर्व वडाध्यक्षको मृत्यु भयो । नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको निधन भएको हो । 

उनी सोही नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष समेत हुन् । लामासँगै सुतेकी उनकी पत्नी ८१ वर्षीया असनी लामा भने बेहोस अवस्थामा फेला परेकी थिइन् । 

मंगलबार बिहान अबेरसम्म आमाबुबा नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुवै बेहोस अवस्थामा भेटिएका थिए । लगत्तै धुलिखेल अस्पताल पुर्याइएकोमा चिकित्सकले लामालाई मृत घोषणा गरेका हुन् ।

बेहोस अवस्थामा अस्पताल पुर्याइएकी असनीको भने हाल स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुले चिसोबाट जोगिन हिटर र फलामको कराइमा आगो बालेको र झ्याल ढोका बन्द गरेर सुतेकोले अक्सिजनको कमी हुँदा मृत्यु भएको हो । 

गत मंसिर ९ गते बर्दियामा आगोको धुँवामा निसास्सिएर तीन बालबालिकासहित चार जनाको ज्यान गयो । गुलरिया नगरपालिका–४ तुलापुर बस्ने भरत चन्दका छोरा २ वर्षीय कात्तिक र ७  वर्षीय कृतसँगै भरतकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनिषाको निधन भएको हो । जाडोमा झ्याल ढोका बन्द गरी घरभित्र आगो बालेर सुतेका उनीहरुको धुवाँको कारण निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

गत वर्ष दाङमा घरको कोठामा धुवाँ फैलिएपछि निस्सासिएर एक महिलाको मृत्यु भएको थियो । एक्लै बस्दै आएकी दंगीशरण गाउँपालिका–५ की ४० वर्षीया पार्वती घर्तीको निधन भएको थियो । बिहान स्थानीयले लामो समयसम्म पनि ढोका नखोलेको देखेपछि उठाउन गएका थिए । 

सो क्रममा कोठाको भेन्टिसेलसनबाट धुवाँ उडेको देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार चुरोट खाएर ठूटो फाल्दा सिरक वा डसनामा परेको आगो सल्किएर निस्सासिएका कारण उनको मृत्यु भएको हो । 

कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरुप ढोका खोल्न खोजिए पनि नसकेपछि ढोका नजिकै ढलेको अवस्थामा प्रहरीले पार्वतीको शव फेला पारेको थियो । कोठा न्यानो बनाउन झ्याल ढोका थुनेर सुत्दा ०७८ फागुन २३ गते ललितपुरमा नवजात शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । कोन्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने ५५ वर्षीया काँइली स्याङ्तान, ३३ वर्षीया सुष्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र दुई दिनको शिशुको निधन भएको हो । 

टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका बन्द गरी सुतेका उनीहरुको अक्सिजनको कमी हुँदा मृत्यु भएको प्रहरीले बताएको छ । जाडोयाममा कोठा न्यानो पार्न बालिने आगो, कोइला र नुहाउन प्रयोग गरिने ग्यास गिजर होशियारी नपुर्याउँदा मृत्युको कारण बन्ने गरेको छ । 

एउटा सानो लापरबाहीका कारण कतिपय अवस्थामा सिंगो परिवार नै समाप्त भएको घटना पनि थुप्रै छन् । वर्षेनी जाडोयाममा यस्ता घटना बढेको पाइन्छ ।  तर, पनि सर्वसाधारणले यसलाई ख्यालख्यालको रुपमा लिने गरेको जानकारहरु बताउँछन् । चिसोमा न्यानो खोज्दा मृत्युको भयावह स्थिति एकातिर भएपनि नेपाल प्रहरीको रेकर्डमा भने उक्त संख्या ज्यादै न्यून देखिन्छ । 

विगत पाँच वर्ष (२०७५/०७६ देखि ०७९/०८०) को अवधिमा आगो, कोइला, हिटर र ग्यास गिजरको प्रयोगमा होशियारी नपुर्याउँदा ३८ जनाको मात्र मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

यस्ता सबै  घटनाको जानकारी प्रहरीकोमा पुग्दैनन् । उपचारका लागि अस्पताल पुग्ने र त्यहाँबाट बाँच्न सफल भएकाहरु त्यसको रेकर्ड प्रहरीसम्म पुर्याउँदैनन् । अस्पतालमा उपचारका क्रममा मृत्यु भएका धेरै घटना पनि प्रहरीसम्म नपुगेको बताइन्छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत पछिल्ला वर्षहरुमा सहरी इलाकामा हिटर, गिजरको प्रयोग बढेकोले यसबाट हुने घटना पनि बढेको स्वीकार्छन् । 

ग्रामीण क्षेत्र र विपन्न परिवारमा भने जनस्वास्थ्य चेतनाको कमीले सुत्ने बेलामा कोठाको झ्याल, ढोका बन्द गरी आगो तथा कोइला बालेर सुत्दा निस्सासिएर अकालमा ज्यान गुमाउनेको संख्या बढेको उनको भनाई छ ।

वर्षेनी जाडोयाममा यस्ता घटनामा वृद्धि हुने गरेको जनाउँदै उनले यस प्रकारका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आम सर्वसाधारण पनि यस्ता घटनाबाट सचेत हुन आवश्यक रहेको कडायतले बताए । ‘घटना भएपछि पाठ सिक्नुभन्दा घटना घट्न नदिनु नै बुद्धिमानी हो,’ उनले भने ।

टिप्पणीहरू