प्रचण्डका बडीगार्ड भारतमा बिते,थियो मदिराको लत

प्रचण्डका बडीगार्ड भारतमा बिते,थियो मदिराको लत
सुन्नुहोस्

-टेकसिंह धामी 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पूर्व सुरक्षा कमाण्डरको निधन भएको छ । शनिबार अचानक भारतमा रहेका माओवादी नेता तुला भुल (जटिल) को निधन भएको हो ।

पूर्व जनमुक्ति सेना तथा तत्कालीन युद्धरत माओवादी पार्टीको केन्द्रीय कार्यालय एवं अध्यक्ष प्रचण्डकै सुरक्षा कमाण्डर रहेका उनले पार्टीको राजनीति पनि गरेका थिए ।

५३ वर्षको उमेरमा जटिलको अचानक मृत्युु भएको र आइतबारमात्र आफूहरुले खबर पाएको उनका भाइ जगत भुल (जीवन) ले जानकारी दिए । उनका अनुसार जटिल ३ महिनाअगाडि महाराष्ट्र गएकोमा पत्नीसहित आफन्तहरुसँग बस्दै आएका थिए । तर, अचानक कुनै स्वास्थ्य समस्या नरहेका जटिलको निधन भएको पारिवारिक स्रोतको दाबी छ । उनको स्थायी घर अछाम जिल्लास्थित पञ्देवल विनायक नगरपालिका-५ लयांटी हो । देखिजान्ने र सुनिजान्नेहरुका अनुसार  उनी तत्कालीन माओवादीमा २०५७ सालदेखि संगठित भएका थिए । २०६० सालमा त भूमिगत नै भए ।

त्यसपछि उनलाई पार्टीले एसिएम बनायो । २०६१ मा एरिया इन्चार्जको रुपमा अछामकै आफ्नो घर भएको एरिया सम्हाले ।तत्पश्चात २०६१ सालको अन्तिमतिर जनमुक्ति सेना जोइन गरेको बताइन्छ । थुप्रैपटक लडाइँ लडेका उनी तत्कालीन 
गण्डक अभियानको कम्पनी कमान्डर रहे ।

२०६२ सालमा पार्टीको राज्य कमिटी सदस्य बने । त्यसबीचमा फेरि करिब २०६३ सालतिर हेडक्वाटरको सुरक्षा हेर्नेगरी जिम्मेवारी पाए ।त्यतिबेला कसैले नदेखेका प्रचण्डसँगै बसेर उनले सुरक्षा प्रदान गर्थे ।

त्यसपछि माओवादीले शान्ति वार्ता गर्ने र शान्ति प्रक्रियामा आउने भएपछि अध्यक्ष प्रचण्ड सार्वजनिक भएको दिन पनि उनी (प्रचण्ड) सँगै थिए ।त्यसपछि भने उनले स्वैच्छिक अवकाश लिएर पार्टी राजनीति थालेको र पार्टी जिल्लाको सचिवालय सदस्य तथा पालिकाको इन्चार्ज भए ।

२०६८ को निर्वाचनमा  समानुपातिकबाट संविधान सभा सदस्य बन्न चाहेका थिए तर त्यसमा असफल रहे । त्यो बेला पार्टीले जानकी साउद (रावल) लाई संविधान सभा सदस्यका लागि सिफारिस गरेको थियो । त्यसपछि बिच्किएका उनलाई पार्टीले जिम्मेवारीबाट  हटाएर कारबाही गरेको थियो । त्यसपछि भने पार्टी र राजनीतिमा बिस्तारै निष्क्रिय हुँदै गए।

...अनि आयो स्वास्थ्यमा समस्या 

पार्टी र राजनीति छोडेका उनलाई रोगले भने छोडेन,२०७४ सालपछि स्वास्थ्यमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । त्यसबेला उनको मृगौलामा समस्या देखिएर औषधी उपचारका लागि भारत  गएका थिए ।उपचारले निको बने पनि मदिराको लतले समात्यो । अत्यधिक मदिरा सेवन गर्न थाल्दा पुनः स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान छ । 

तर यसपल्ट भने उनी उपचारका लागि नभएर छोराको निधनपछिको क्षतिपूर्ति लिन भारतसम्म पुगेका थिए । करिब १ वर्षअगाडि १८ वर्षको छोरा दुर्घटनामा बितेको र त्यसपछि भारतीयबाट पाइने क्षतिपूर्ति लिनका लागि उनी महाराष्ट्रको उरन पुगेको बताइएको छ । 

तर, त्यो क्षतिपूर्ति लिएर घर फर्किन पाएनन् । तीन महिना अगाडि भारत लागेका उनी त्यहाँ आफन्तहरुसँगै बस्दै आएका थिए । अहिले पनि श्रीमती भारतमै छिन् भने अछामस्थित घरमा २ छोरा र एक छोरी बस्दछन् । पूर्व जनमुक्ति  सेना,बटालियन कमाण्डर र पार्टीको सुरक्षासँगै वर्ग संघर्षको मोर्चा र लडाइँ लड्ने उनको निधनपछि परिवार भने अप्ठ्यारोमा परेको छ । उनीहरुले पार्टी र सरकारबाट सहयोगको अपेक्षा गरेका छन् ।

टिप्पणीहरू