आधिकारिक कता कता, आरके चाहिँ त्यता

आधिकारिक कता कता, आरके चाहिँ त्यता

आधिकारिकको अत्तोपत्तो छैन, स्वघोषितले चारैतिर चक्कर लगाइसके । गैरआवासीय नेपाली संघ (एनआरएन) को विवादास्पद चुनावपछि चुलिएको झगडा अहिले सुनसान छ, साम्य भएको छैन । 

कानुनतः परराष्ट्र मन्त्रालयमा दर्ता भएपछि मात्रै एनआरएन नेतृत्व आधिकारिक हुने व्यवस्था छ । तर, निर्वाचनबाट आधिकारिक रुपमा जितेका बद्री केसीहरूको अत्तोपत्तो छैन । चुनावपछि समानान्तर एनआरएन बनाउने आरके र शेष घलेको साथ प्राप्तहरु मन्त्रालय धाएका धायै छन् ।

सोनाम लामाहरुले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) दर्ताका लागि पहल गरे । मन्त्रालयले नमानेपछि अदालत गए । अदालतले दर्ता गर्न आदेश दियो । तर, अझै दर्ता भएको छैन ।

परराष्ट्रमा गैरआवासीय नेपालीको मामिला सहसचिव अमृत राईले हेर्ने हो । अहिलेको विवादपछि परराष्ट्रले यस्ता संघ, संस्था दर्ता गर्नुहुँदैन भन्ने कुरा कर्मचारीबीच उठेको छ । सोनामहरूको युएनडिओ दर्ताका लागि सर्वोच्चले आदेश दिएपछि परराष्ट्रले पुनरावलोकन माग गरेको छैन । यसरी अहिले गैरआवासीय नेपालीका संस्था तीन वटा भइसकेका छन् ।

कतारमा विनोद कुँवरहरूले अलग्गै एनआरएन घोषणा गर्दा दूतावासका कर्मचारी कृसु क्षेत्री नै पुगेका थिए । त्यहीँ रमेश भट्ट र सुनील घिमिरेको अलग्गै संस्था घोषणा गरिएको छ । त्यसमध्ये काठमाडौंमा सम्पन्न निर्वाचनमा जितेका बद्री केसीले मन्त्री, प्रधानमन्त्री भेटेका छैनन् ।

उनीसँग हारेका आरके शर्माले सबैलाई भेटिरहेका छन् । उनीहरूले हिमालय होटलमा आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउद नै गएको भनेका छन् । 
 

टिप्पणीहरू