गल्ती छोप्न यतिसम्म गर्यो एनआइसीले,राष्ट्र बैंकका हाकिमलाई हेलिकोप्टरमा सरर

गल्ती छोप्न यतिसम्म गर्यो एनआइसीले,राष्ट्र बैंकका हाकिमलाई हेलिकोप्टरमा सरर
सुन्नुहोस्

पछिल्लो समय नेपाल राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामाथि धेरैले प्रश्न चिन्ह उठाएका छन् । यही बेला स्थलगत सुपरीवेक्षणमा खटिएका केन्द्रीय बैंकका कर्मचारीहरु बैंक तथा वित्तीय संस्थाका विभिन्न प्रलोभनमा फसेका केही घटना उदाङ्गो भएको पाइएको छ ।

तुलनात्मक रुपमा आक्रामक बैंकिङपद्धति अपनाउँदै आएको एनआइसी एसिया बैंक कर्जा असुलीमा कोभिड १९ महामारीपछि निकै अप्ठेरोमा परेको छ । तथ्य लुकाएर गलत अंक र विवरण पेश गरेको आरोपमा नेपाल राष्ट्र बैंकले उसलाई अघिल्ला तीन वर्ष लाभांश वितरणमा समेत रोक लगाएको थियो । गत साउनमा मात्रै उसले उक्त रोकबाट उन्मुक्ति पाएको हो ।

पछिल्लो समय राष्ट्र बैंकको ‘अन साइट’ र ‘अफ साइट’ सुपरीवेक्षणमा बैंकका धेरै कमजोरी फेला परेपछि एनआइसीले स्थलगत सुपरीवेक्षण टोलीलाई नै काबुमा लिने काइदा अपनाएको पाइन्छ । केन्द्रीय बैंकको दरबारमार्गस्थित बैंक सुपरीवेक्षण विभाग स्रोतले गत आर्थिक वर्ष गरिएको सुपरीवेक्षणमा आफ्ना अधिकृत कर्मचारीहरु एनआइसीको खर्चमा अनधिकृत तवरबाट हेलिकोप्टरमा मुगुको रारा ताल घुम्न गएको दाबी गरेको छ ।

स्रोतले दिएको विवरणअनुसार एनआइसीको मुख्य कार्यालय काठमाडौंको सुपरीवेक्षणपछि राष्ट्र बैंक टोली दुई भागमा बाँडिएर एउटा वीरगञ्ज र अर्को नेपालगञ्ज गएको थियो । नेपालगञ्ज गएको टोलीलाई एनआइसीले हेलिकोप्टर चढाएर मुगु घुमाएको प्रमाणसहितको उजुरी गभर्नर महाप्रसाद अधिकारीको सचिवालयमासमेत पुगेको छ । एनआइसीकै कर्मचारीले हेलिकोप्टर यात्राको विवरण खुलाएर उजुरी दर्ता गराएको उच्च स्रोतको भनाई छ । 

‘को को थिए हेलिकोप्टरमा ?’ भनेर सोधिएको जिज्ञासामा सुपरीवेक्षण विभागीय स्रोत भन्छ, ‘त्यो त छर्लङ्गै छ,उक्त बैंकको सुपरीवेक्षणमा गएका हाम्रा अधिकृतहरु हुन् । उनीहरुको लाज छोपिदिन पनि नाम चाहिँ  नभनिहालुँ ।’ टोलीका सुपरीवेक्षक निर्देशक रोशन सिग्देल हुन् । सिग्देलले जनआस्थासँगको कुराकानीमा भने, ‘हाम्रो दुई टोली थियो । एउटा वीरगञ्ज र अर्को नेपालगञ्ज गएको हो । म दुई जना सहायक निर्देशकसँगै आफ्नै गाडीमा वीरगञ्ज गएको हुँ । उताको कुरो थाहा भएन ।’

डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, ‘ हो भने गम्भीर अपराध हो । हाम्रा कर्मचारी पनि अपराधको भागी बन्नै पर्छ । एनआइसी एसियालाई पनि छाडिनुहुन्न । जनआस्थाले खोतलेको विषयमा राष्ट्र बैंकले सुक्ष्म ढंगले अनुसन्धान र छानबिन गर्नेछ ।’

यता गभर्नरको कार्यालय र बैंक तथा वित्तीय संस्था नियमन विभाग स्रोतले भने केन्द्रीय बैंकका कर्मचारीहरुले एनआइसीले उपलब्ध गराएको हेलिकोप्टरमा मुगु घुमेको सकारेको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, ‘ हो भने गम्भीर अपराध हो । हाम्रा कर्मचारी पनि अपराधको भागी बन्नै पर्छ । एनआइसी एसियालाई पनि छाडिनुहुन्न । जनआस्थाले खोतलेको विषयमा राष्ट्र बैंकले सुक्ष्म ढंगले अनुसन्धान र छानबिन गर्नेछ ।’

केन्द्रीय बैंकका कर्मचारीलाई हेलिकोप्टर चढाएर कैफियत लुकाउने उद्देश्य राखेको एनआइसीका एजिएम तथा गुनासो सुनुवाई अधिकारी अर्जुनराज खनियाले उक्त दाबीलाई खण्डन गर्न सकेनन् । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘कसले कसको हेलिकोप्टर चढ्यो भनेर खोज्ने हो भने सूची लामो हुन्छ । अप्ठेरो पर्दा कोही कसैले लिफ्ट दियो होला, त्यसैलाई मुख्य विषय बनाउनु हुँदैन ।’ खनिया उनै हुन् जो नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण,नियमन र विदेशी विनिमय व्यवस्थापन विभागमा वर्षौैंदेखि महिनाको तीन साताभन्दा बढी नियमित रुपमा पुग्ने गरेका छन् । 

केन्द्रीय बैंकका कर्मचारीलाई अन्य बैंक तथा वित्तीय संस्थाका प्रलोभनमा नपर्न बैंकले मुलुकको वर्तमान अवस्थाभन्दा धेरै सुविधा दिएको छ । मासिक तलबभत्तादेखि अन्य सुविधाको दृष्टिकोणले राष्ट्र बैंकमा महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएपछि झन् आकर्षक संस्थाको रुपमा दर्ज भएको छ ।

गभर्नर,डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई आफूले चढेका करोडौं मूल्यका बैंकका गाडी अवकाश हुँदा घर लैजान दिइन्छ । वार्षिक १० औं लाख रुपैयाँ कर्मचारी कल्याणकारी (बोनस) वापत दिइन्छ । औषधी खर्च पनि लाखौं हुने गरेको छ । हालैमात्र घरजग्गा सापटी रकम ८८ लाख रुपैयाँ पुर्याइएको छ । अन्य कर्मचारीलाई सवारी साधन खरिदको निम्ति सापटी दिइन्छ । अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीले कम्तीमा दुई वर्षमा एक पटक विदेश भ्रमण गर्न पाउँछन् । सबै तहका कर्मचारीलाई आन्तरिक यात्रामा हवाई टिकट र आकर्षक दैनिक भ्रमण भत्ता तोकिएको छ । 

हालै नाम संशोधन भएको पहिलेको जनशक्ति व्यवस्थापन विभागका एक जना हाकिमले भने, ‘सबैलाई पोशाक खर्च दिइन्छ । बैशाख १४ गते बैंक दिवसको दिन पनि नसोचेको खर्च दिइन्छ । असार मसान्त र पुस मसान्तमा दैनिक भ्रमणभत्ताको रकमको आधारमा क्लोजिङ भत्ता दिने व्यवस्था छ, त्यो पनि आकर्षक नै छ । बैंक निरीक्षणमा जाँदा दैनिक भ्रमण भत्ता र यातायात खर्च दिने व्यवस्था छ । तर पनि आफ्नो कर्तव्य र दायित्व निभाउने क्रममा कर्मचारीले त्यस्तो बदनियत राख्छन् भने लाजैमर्दो भयो ।’

टिप्पणीहरू