नारायणघाट–मुग्लिङ सडकखण्ड दैनिक चार घण्टा बन्द

नारायणघाट–मुग्लिङ सडकखण्ड दैनिक चार घण्टा बन्द
सुन्नुहोस्

चितवनको नारायणघाट–मुग्लिङ सडकखण्डमा दैनिक चारघण्टा सवारी आवागमन बन्द गरिने भएको छ । 

सडकखण्डमा निर्माणधीन पुलहरुको निर्माण सुचारु गर्न पुस ७ देखि पुस २८ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । पुल निर्माण कार्य पुनः सुचारु गर्नका लागि चट्टान फुटाउनुपर्ने भएपछि सवारी आवागमन रोक्नुपरेको नागढुंगा मुग्लिङ्ग सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । 

‘नारायणघाट–मुग्लिङ सडकखण्डमा निर्माणधीन पुलहरुमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग तथा एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ विगतदेखि प्रयास गरिँदै आएको विदितै छ । सो पुलमा जग तथा एप्रोच सडक निर्माणको लागि पुनः निर्माण कार्य सुचारु गर्न यही मिति २०८०–०९–०७ देखि २०८०–०९–२८ सम्म दिनको ११ बजेदेखि ३ बजेसम्म यातायात सञ्चालन पूर्ण रुपमा रोकी चट्टान फुटाउने...’, सूचनामा उल्लेख छ । 

नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगौडीसम्म रोकिने छ । त्यस्तै, मालवाहक सवारीलाई भतेरी जंगलदेखि रामनगरसम्म रोकिने योजनाले जानकारी दिएको छ । मुग्लिङतर्फबाट छिर्ने यात्रुवाहक गाडीलाई मनकामना केबलकार गेट र पोखरातर्फबाट आउने सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म रोक्ने जनाइएको छ । 

काठमाडौंतर्फबाट आउने मालवाहक सवारीलाई लेवाटार र पोखरातर्फबाट आउनेलाई सत्रसय फाँटमा रोकिने छ । रोकिएको सबै सवारी साधनलाई दिँउसो ३ बजेपछि मात्रै छोडिने उल्लेख गर्दै योजनाले लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न आग्रह गरेको छ ।

टिप्पणीहरू