विवादमा परेपछि सुदन किरातीको प्रष्टीकरण - म सबै धर्मको अभिभावक हुँ !

विवादमा परेपछि सुदन किरातीको प्रष्टीकरण - म सबै धर्मको अभिभावक हुँ !
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संविधानको पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न आह्वान गरेका छन् । क्रिश्चियन धर्मका सम्बन्धमा आफ्नो एउटा भाषण विवादमा परेपछि स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'बहशको लागि सबैलाई धन्यवाद !, संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो।'

मन्त्री किरातीले विभिन्न सयमयमा आफूलाई धेरै प्रकारका धार्मिक आरोप लागेको जनाउँदै त्यसलाई सामान्य रुपमा लिएको पनि बताए । 'भन्‍नलाई त मलाई; पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने', उनले लेखेका छन्, 'फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।'

हिजो क्रिश्चियन महोत्सवको कार्यक्रममा मन्त्री किराँतीले संविधानले नै धर्मनिरपेक्ष राज्य भनेकाले क्रिश्चियन धर्म नमान्नु दण्डनीय हुने बताएका थिए । आक्रमक भाषण गरेका उनले भनेका थिए, ‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ ।’ 

उनको सो अभिव्यक्तिलाई लिएर चर्को आलोचना भैरहेको छ । कतिपय राजनीतिक दलका नेताले राजीनामासमेत मागिरहेका छन् ।

टिप्पणीहरू