दिक्षान्त समारोहमा विद्यार्थीहरुले जारबाट पानी पिउनु परेपछि ...

दिक्षान्त समारोहमा विद्यार्थीहरुले जारबाट पानी पिउनु परेपछि ...
सुन्नुहोस्

काठमाडौं विश्वविद्यालयले हालै  २९ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । गत मंसिर २७ गते प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख उपस्थितिमा धुलिखेलमा आयोजित समारोहमा एक हजार ८३८ विद्यार्थी दिक्षित भएका थिए । 

पहिलो चरणको समारोहमा विभिन्न स्कूलका साथै साइन्स विधाअन्तर्गत पिएचडी,डिएम र एमसिएच तहका १८ जना,एमफिल तहका ३८ जना,स्नातकोत्तर तहका ३१४ जना,पिजिडी तहका ५२ जना र स्नातक तहका एक हजार ४१६ जना  दिक्षित भएका  हुन् । 

उक्त समारोहको एउटा तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । फोटोमा दिक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले जारबाट पानी पिइरहेको देखिन्छ । टाउकोमा ‘ग्र्याजुएशन’ को टोपी लगाएका विद्यार्थीहरुले पानी पिएको शैलीलाई अधिकांशले असभ्य भनेका छन् । 

यता,सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने विश्वविद्यालय व्यवस्थापनमाथि प्रश्न उठाएका छन् । दिक्षान्तजस्तो विशेष समारोहमा व्यवस्थापन एकदमै कमजोर भएको भन्दै विश्वविद्यालयको आलोचना भइरहेको छ । यता,कतिपयले ती विद्यार्थीलाई दिक्षित भन्न नसुहाउने टिप्पणी गरेका छन् । 

विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुन ठूला समारोहमा त्यस्ता साना गतिविधिहरु भइरहने बताउँछिन् । समारोहमा पानीको व्यवस्था गरिएको उल्लेख गर्दै उनले भनिन्,‘हामीले सक्नेसम्म म्यानेज गरेका थियौं । ठूला समारोहमा कहिलेकाँही यस्तो हुन्छ । अर्कोचोटिबाट यस्ता कुरामा थप ध्यान दिन्छौं ।’
 

टिप्पणीहरू