कन्भोकेसन कि कुम्भमेला

कन्भोकेसन कि कुम्भमेला
सुन्नुहोस्

–चूडामणि कौशिक

पुस २ –काठमाडौँ पूरै जाम थियो ।  गत मङ्सिर १५ गतेको सम्झना भयो । विवाहको मौसम चलेकाले जताततै जन्तीले बाटो छेकिदिए छन् । गाडीहरूको घन्टौँ जाम । गत सोमबार पनि  त्यस्तै झलक पाइयो । किन रे त भन्दा टियुका विद्यार्थीको दीक्षान्त समारोहले रे । विद्यार्थीलाई दिइएको समय एउटा, प्रेसलाई एउटा, प्रमुख अतिथि– विशिष्ट अतिथिलाई दिइएको समय अर्काे । 

दशरथ रङ्गशाला कन्भोकेसनमा सहभागी विद्यार्थीले भरिभराउ । तिनका अभिभावकहरूको पनि उपस्थिति उस्तै । भित्र–बाहिर पूरै सल्याङ्बल्याङ छ । 

गिनिस बुक अफ रेकर्डसका लागि समारोहस्थल रङ्गशाला छानिएको जस्तो लाग्यो । भनिएको गेटबाट भित्र पसियो । एउटा एउटा सिट छानिएर बसियो प्लास्टिकको सिटमा । मुनितिर मुख्य भाग जहाँ खेल प्रतियोगिताहरू हुन्छ, पूरै खाली छ । मैदान खाली तर मैदान बाहिर अभिभावकहरू कुर्सीमा बसेका छन् अस्तव्यस्तसँग । कोही पूर्व फर्केका छन्, कोही पश्चिम, कोही उत्तर, कोही दक्षिण । चिसो ठाउँ छ । तिनका सन्तानको उस्तै सल्याङबल्याङ मैदानी भागको वर पनि । 

कहाँबाट को बोलिरहेको छ, कार्यक्रम सुरु भयो कि सकियो, केही भेउ छैन दीक्षितलाई पनि । सर्टिफिकेट बाँडिएकै छैन ।

सिटबाट ओर्लेर  मोबाइलबाट फोटो खिँचिदै छ । कोही सिंगल सिंगल, कोही ग्रुपमा । रमाइलो त त्यतिबेला झन् भयो जब दीक्षित विद्यार्थीका बाबुआमासमेतले कन्भोकेसनमा लगाइने गाउन र क्याप लगाएर फोटो खिँचाए । अझ रमाइलो, तिनका भाइबहिनीले पनि गाउन र क्याप लगाएरै मजासँग फोटो खिचाए ।

अति रमाइलो कुरो, राष्ट्रपति, प्रधानमन्त्री उता पश्चिमपट्टिको प्यारापिटबाट भाषण गर्दै छन्, ( चिरपरिचित आवाज कतैबाट आएकाले  तिनैको आवाज हो कि भन्ने अड्कलसम्म काटियो, बाहिरबाट आउने मुख्य वक्ता यसपालि थिएन भन्ने बुझियो ) यता विद्यार्थी मैदानको खाली भागमा क्याप उडान गर्दै फोटो खिंचाउँदै छन्, ठुलो स्वर निकाल्दै छन्, तिनले घन्टौँ त्यसरी नै फोटो खिंचाइरहे । त्यहाँ ज्ञान अर्थात् इन्लाइमेन्टबारे सुन्ने फुर्सद कसैलाई नाइँ । सुन्नु पनि कसरी ? न रङ्गशालाका हरेक छेउ सुनिने माइकको व्यवस्था छ, न शान्त वातावरण । अनि खै सिसिटिभीको व्यवस्था ? शौचालय गयो, हेरिनसक्नु फोहोर । 

प्यारापिट बाहिर निजी क्षेत्रको एउटा मात्र फोटो स्टुडियोले धमाधम फोटो खिंचाउँदै छ तर  पानी पनि छ बाहिर तर भित्र नाइँ । “कुम्भमेला जस्तो पो छ त ”, एउटी दीक्षित विद्यार्थीले फ्याट्टै भनिन् । तर ती कुन बेला दीक्षित भइन्, आफैँलाई थाहा छैन । सर्टिफिकेट लिन जाँदा काउन्टर बन्द छ । सर्टिफिकेट लिएपछि अर्काे फोटो सेसन छँदै छ । 

कुल उत्तीर्ण करिब ७३ हजारमध्ये दीक्षान्त समारोहमा सहभागी हुन आवेदन करिब १२ हजारको मात्र आएकामा करिब आठ हजार त सहभागी थिए होलान् । 

दीक्षान्त समारोहमा भाग लिने स्नातकलाई रु  तीन हजार ७००, स्नातकोत्तर –एमफिललाई रु चार हजार २०० र पिएचडीवालाई रु चार हजार ७०० कुल धरौटी लिइँदो रहेछ । त्यसभित्रै रु एक हजार ५०० डिपोजिट मानेर रु एक हजार २०० फिर्ता दिइँदोरहेछ– यसको अर्थ रु ३०० चाहिँ गाउनको भाडा रहेछ ।  त्यत्रो समारोहमा जलपानको व्यवस्था छैन, जबकि विद्यार्थीले सहभागिता रकमबापत क्रमशः रु दुई हजार २००, रु दुई हजार सात सय र रु तीन हजार २०० त तिरेकै हुन्छन् । 

अनि सहभागीबापत अभिभावकलाई के त ? मात्र कुम्भमेला हेर्नु र फोटो खिंचाउन पाउनु ?–हरे, यत्तिको अन्तरराष्ट्रिय कार्यक्रममा न माइक, न सिसिटिभी, न चियापान, न स्वयंसेवक । अभिभावक कसैलाई सिँत्तै पसाइयो, कसैलाई पास कार्ड मागियो ।  

प्राज्ञिक कार्यक्रमको थलो खेलकुद रङ्गशाला छानिँदा कस्तो होला ? 

कार्यक्रम चलेपछि नजिकैको वल्र्ड सेन्टर टन्न भरिएको थियो । खाजा खान ठाउँ पनि नाइँ । हरे, हाम्रो देशमा प्राज्ञिक गतिविधि यस्तै हुन्छ ? सधैँ यस्तै हुने हो ? गिनिस बुक संस्थाले भद्रगोल व्यवस्थापन पनि रिकर्डमा राख्यो कि ? 

टिप्पणीहरू