प्रधानाध्यपक नियुक्तीमा कानून विपरित हालीमुहाली

प्रधानाध्यपक नियुक्तीमा कानून विपरित हालीमुहाली
सुन्नुहोस्

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकस्थित सुन्दरी माध्यामिक विद्यालयको प्रधानाध्यापक नियुक्तीमा विद्यालय व्यवस्थापन समितिले कानून विपरित हालीमुहाली गरेको पाइएको छ ।

तहगत भन्दा पनि स्थानीय शिक्षकलाई प्राथमिकता दिनुपर्छ भन्दै व्यवस्थापन समितिले गैरकानूनी ढंगबाट आफू मातहतका जुनियर शिक्षकलाई प्रधानाध्यापकमा नियुक्त गर्न लागेको हो । विद्यालयमा माध्यामिक तहको तीन जना योग्य शिक्षक हुँदाहुँदै व्यवस्थापन समितिले निम्न माध्यामिक तहको शिक्षकलाई नियुक्त गराएको छ ।

शिक्षा नियमावलीको धज्जी उडाउँदै व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर शाहले आफू मातहतका निमावि शिक्षक भीमसेन अधिकारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएका छन् । राम्रोभन्दा पनि हाम्रो मात्रै खोजेर सिनियर शिक्षक हुँदाहुँदै जुनियर शिक्षकलाई प्रधानाध्यापक नियुक्त गराउनुले आर्थिक पारदर्शितामा समेत प्रश्न चिन्ह उठाएको छ ।

तर, व्यवस्थापन समितिका अध्यक्ष शाह त्यो कुरा मान्न तयार छैनन् । भन्छन्–‘मावि तहका शिक्षकहरु सबै भर्खरका छन्,कागजी रुपमा जुनियर भए पनि शिक्षा क्षेत्र राम्रो बुझेको र यसअघि पनि सहप्रधानाध्यापक चलाइरहेको शिक्षकलाई नियुक्त गरेका हौं । कानून अरुले पनि मानेका छैनन् । हामीले मात्रै मान्नु पर्छ भन्ने छैन ।’ ‘हाम्रो निर्णय स्वीकार्य नभए न्यायालय जान सक्नुहुन्छ’, भन्दै शाहले शिक्षा नियमावली विपरित तर्क दिएका छन् ।

कानून अरुले पनि मानेका छैनन् । हामीले मात्रै मान्नु पर्छ भन्ने छैन ।’

प्रधानाध्यापक नियुक्तीको विषयमा बसेको बैठकमा प्रधानाध्यापक बन्न इच्छा व्यक्त गरेका मावि तहका शिक्षकलाई समेत अन्यायमा परेको जस्तो लागे न्यायालय जानुस् भन्दै उल्टै धम्की दिएका छन् । ‘स्थानीय अभिभावकको जनभावना र व्यवहारिकता हेरेको हो । हाम्रो ठाउँमा हाम्रै प्रधानाध्यापक हुनुपर्छ, त्यसको निर्णय हामी आफै गर्छौ भनेर हाम्रो कुरा सुन्नै चाहनुभएन’, प्रधानाध्यापक बन्ने इच्छा व्यक्त गरेका शिक्षक दिपमान गुरुङलाई उदृत गर्दै सोही विद्यालयमा मावि तहकी शिक्षक सम्झना भट्टले भनिन्–‘व्यवस्थापन समितिले कानून मिचेर गैर कानूनी ढंगबाट निर्णय गर्यो ।’

शिक्षा नियमावलीअनुसार माध्यामिक तहको स्थायी शिक्षक हुँदाहुँदै निम्न माध्यामिक तहको वा आधारभूत तहको शिक्षकलाई प्रधानाध्यापक बनाउन पाइँदैन । सहमति जुटेको अवस्थामा व्यवस्थापन समितिले जो कोही शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न सक्छ तर सहमति नहुँदा त्यो संभावना हुँदैन । विवाद उत्पन्न भएको खण्डमा निर्णय बदर हुनसक्ने संभावना पनि रहने त्रिपुरासुन्दरी गाउँंपालिका शिक्षा शाखा प्रमुख नवराज पाठकले बताएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई धादिङ प्रमुख भगवान पौडेलले पनि सिनियर शिक्षक हुँदाहुँदै जुनियर शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिनु गैर कानूनी भएको बताए । ‘राम्रो भन्दा पनि हाम्रो खोज्नाले विवाद उत्पन्न भएको छ’, पौडेलले भने–‘व्यवस्थापन समिति कानून भन्दा माथी हुँदैन, कानूनले सिनियर नै हुनुपर्छ । सिनियरले लिन्न भन्यो भने फरक कुरा हो ।’

टिप्पणीहरू