सशस्त्रको सचेतना अभियानमा जनप्रतिनिधिहरु बेखबर

सशस्त्रको सचेतना अभियानमा जनप्रतिनिधिहरु बेखबर

सशस्त्र प्रहरी बलले मधेश प्रदेशमा सञ्चालन गरेको ‘विपद् व्यवस्थापन र दुर्व्यसनविरुद्ध सचेतना अभियान’ प्रभावकारी नभएको गुनासो सुनिएको छ । स्थानीय र विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त अभियान सोचेजति प्रभावकारी नभएको सम्बद्ध पक्षले नै बताएका छन् । 

सशस्त्रले सिरहाको लहानस्थित जेएर मुररका बहुमुखी क्याम्पसमा केही दिनअघि सचेतना अभियान चलाएको थियो । तर, अभियान औपचारिकतामा मात्र सीमित भएको जनाउँदै जनप्रतिनिधिहरुले त्यसबारे आफूहरुले कुनै जानकारी नै नपाएको बताएका छन् । 

लहान नगरपालिकाका मेयर महेश चौधरी सशस्त्रले कार्यक्रमका लागि स्थानीय तहसँग समन्वयसमेत नगरेको बताए । ‘सशस्त्र प्रहरीको सचेतना अभियानबारे मलाई केही पनि थाहा छैन । नगरपालिकालाई जानकारी गराइएको थिएन’, उनले भने । वडा नम्बर ७ का वडाध्यक्ष रामऔतार शर्माले वडाले नै टोलटोलमा लागुऔषध दुर्व्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको सुनाए । 

वडाध्यक्ष भन्छन्, ‘उनीहरुको बारेमा थाहा भएन । बरु वडाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिराखेको छ ।’ नेपाल पत्रकार महासंघ, सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले कागजमा देखाउनको निम्ति मात्रै उक्त कार्य गरिएको आरोप लगाए ।

टिप्पणीहरू