विदेशबाट सामाजिक सञ्जालमा पैसा नपठाउनु : नेपाल प्रहरी

विदेशबाट सामाजिक सञ्जालमा पैसा नपठाउनु : नेपाल प्रहरी
सुन्नुहोस्

नेपाल प्रहरीको साइबर ब्यूरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन अनुरोध गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर साइबरजन्य ठगीका घटना बढेकाले ब्यूरोले यस्तो अनुरोध गरेको हो । 

वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले थोरै रकम जोगिने प्रलोभनमा अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरेर ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाइदिनु’ भनी दिने गरेको पाइएको ब्यूरोको अनुसन्धानबाट खुलेको छ । 

आज प्रकाशित सूचनामा भनिएको छ, ‘विदेशी रकम प्राप्त गरेपश्चात् निज अमुक व्यक्तिले ‘हुन्छ, म तपाईंले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु !’ भन्ने गरेको व्यहोरा खुल्न आएको छ । कतिपय अवस्थामा रकम गायब हुने, विभिन्न समस्या उत्पन्न हुने भएकाले रकम कारोबारमा सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउन भनिएको हो ।

यसले विदेशमा दुःख, परिश्रम गरी कमाएको रकम स्रोत नखुलेको रकममा रुपान्तरण भई कानूनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने भएकाले बैंकिङ च्यानलबाट मात्र रकम पठाउन आग्रह गरिएको हो ।

टिप्पणीहरू