प्रधानमन्त्रीसङ्ग राती को को दुबई उड्दै ?

प्रधानमन्त्रीसङ्ग राती को को दुबई उड्दै ? फाइल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल आज राति संयुक्त अरब इमिरेट्सको दुबई जान लाग्नुभएको छ । उहाँ राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राति साढे ९ बजे नेपाल वायुसेवा निगमको उडानमा त्यता प्रस्थान गर्ने कार्यक्रम छ । 

टोलीमा सामेल ३० जनामध्ये १८ जनाले सरकारी र १२ जनाले निजी क्षेत्रको प्रतिनिधित्व गर्दैछन् । अबुधावीस्थित नेपाली दूतावासको तर्फबाट आठ जना पनि सोही टोलीमा मिसिँदैछन् । 

प्रधानमन्त्रीसँगै उहाँकी पुत्री तथा निजी सचिव गंगा दाहाल,वनमन्त्री वीरेन्द्रप्रसाद महतो,राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल,अर्थसचिव कृष्णहरि पुष्कर,निजी सचिव रमेशकुमार मल्ल,भावी परराष्ट्र सचिव सेवा लम्साल टोलीमा छन् । 

त्यसैगरी चिफ अफ प्रोटोकोल दिलिपकुमार पौडेल,प्रधानमन्त्रीका वातावरण सल्लाहकार डा.पपुलर जेन्टल,प्रोटोकल अफिसर प्रवीण भट्टराई,तीन जना सुरक्षाकर्मी, तीन जना सञ्चारकर्मी तथा फोटो पत्रकार पनि आजै दुबई जान लागेका छन् । दुबईबाटै त्यहाँस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत दूतावासका आठ जना कर्मचारी टोलीमा सामेल हुँदैछन् । 

बिजनेस डेलिगेसनको रुपमा १४ जना रहेको बताइन्छ । जसमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाललगायत छन् ।

टिप्पणीहरू