बेपत्ताको खोजी गर्ने प्रहरी संगठनमा आफ्नै कर्मचारी हराउने क्रम बढ्दो

बेपत्ताको खोजी गर्ने प्रहरी संगठनमा आफ्नै कर्मचारी हराउने क्रम बढ्दो

पछिल्लो समय नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारी बिना जानकारी हराउने क्रम बढेको छ । हरेक महिना दर्जनौं प्रहरी कर्मचारी बेपत्ता हुने गरेको पाइएको छ । कोही विभिन्न बहानामा र कोही बिना जानकारी हराएको बताइन्छ ।  प्रहरी चौकी विही, गोरखामा कार्यरत प्रहरी सहायक हवल्दार खुमबहादुर थापा गत असोज २८ गतेदेखि सम्पर्कविहीन छन् । 

पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिका–१ बस्ने छकवीर थापाका छोरा उनी कँही–कतै फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले उपस्थित हुन सार्वजनिक सूचना नै प्रकाशित गरेको हो । त्यस्तै, प्रहरी वृत्त, मालिगाउँ काठमाडौंमा कार्यरत प्रहरी जवान सौजन राईको पनि गत असोज २४ गतेदेखि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन । 

यता, बैतडीको मेलौली नगरपालिका–१ बस्ने केशव सिंहको छोरा हाल प्रहरी वृत्त जगाती, भक्तपुरमा कार्यरत प्रहरी जवान सुमन सिंह पनि गत असोज ८ गतेदेखि बेपत्ता रहेको बताइन्छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिकतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराई दुई महिनादेखि गैरहाजिर देखिन्छन् । गत असोज १ गतेदेखि कार्यालय नगएका उनलाई गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित स्पष्टीकरण पेश गर्न भनेको हो । अन्यथा, सेवाबाट हटाउने चेतावनी दिइएको छ । 

केही समययता प्रहरीका तल्लो दर्जाका कर्मचारीहरु गायब हुने क्रम बढेको छ । उनीहरु बिना स्वीकृति लामो समयसम्म बिदामा बस्ने वा गैरहाजिर रहने गरेको प्रहरी मुख्यालयका अधिकारीहरु बताउँछन् । 

हेडक्वार्टरको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा सम्पर्कमा नआएका ३४६ जना कर्मचारीलाई नोकरीबाट हटाइएको छ । जसमा सबैभन्दा बढी प्रहरी जवान २३२ जना छन् । 

गत वर्ष पटक–पटक सूचना प्रकाशित गर्दासमेत हाजिर हुन नआएका १५५ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाइएको छ । जसमा प्रहरी वरिष्ठ नायव निरीक्षक एक, प्रहरी नायव निरीक्षक चार, प्रहरी सहायक निरीक्षक पाँच, प्रहरी हवल्दार ११, प्रहरी सहायक हवल्दार १८, प्रहरी जवान १०२ र कार्यालय सहयोगी १४ जना छन् । 

त्यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरी वरिष्ठ नायव निरीक्षक एक, प्रहरी नायव निरीक्षक पाँच, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी हवल्दार आठ, प्रहरी सहायक हवल्दार छ, प्रहरी जवान ७५ र प्रहरी कार्यालय सहयोगी नौ जना गरी कुल १०६ जनालाई नोकरीबाट हटाइएको छ । 

त्यसअघि आर्थिक वर्ष २०७७/०७८ मा सम्पर्कमा नआएका ८५ जना प्रहरी कर्मचारीलाई जागिरबाट हटाएको देखिन्छ । जसमा प्रहरी नायव निरीक्षक तीन, प्रहरी सहायक निरीक्षक चार, प्रहरी हवल्दार १४, प्रहरी जवान ५५ र प्रहरी कार्यालय सहयोगी नौ जना छन् ।  

राजीनामा दिने पनि बढ्दो 

प्रहरीका तल्लो दर्जाका कर्मचारीले केही वर्षयता राजीनामा दिने क्रम पनि बढेको छ । पछिल्लो तीन वर्षमा एक हजार आठ सय ३३ जना कर्मचारीले राजीनामा दिएको प्रहरी अभिलेखमा देखिन्छ । जसमा सबैभन्दा बढी हवल्दारतर्फ ५७७ जना छन् । 

गत वर्ष मात्र ६३२ जना प्रहरी कर्मचारीले राजीनामा बुझाएका थिए । त्यसअघि आर्थिक वर्ष २०७८÷०७९ मा ४९८ र ०७७÷०७८ मा ७०३ जनाले राजीनामा दिएको पाइन्छ ।  

राजीनामा दिएकामा प्रहरी नायव महानिरीक्षकतर्फ एक, प्रहरी वरिष्ठ उपरीक्षक दुई, प्रहरी उपरीक्षक दुई, प्रहरी नायव उपरीक्षक नौ, प्रहरी निरीक्षक २८, प्रहरी वरिष्ठ नायव निरीक्षक ११, प्रहरी नायव निरीक्षक १४६ जना हुन् । 

त्यस्तै, प्रहरी सहायक निरीक्षकतर्फ ४१९, प्रहरी वरिष्ठ हवल्दार १०८, प्रहरी हवल्दार ५७७, प्रहरी सहायक हवल्दार ९८, प्रहरी जवान ३१७ र प्रहरी कार्यालय सहयोगी ११५ जनाले राजीनामा दिएका छन् । 

बाहिरका अवसरको असर 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत राम्रो अवसर पाएपछि पनि प्रहरीमा जागिर छाड्ने क्रम बढेको बताउँछन् । यसबाहेक जागिर खान वा काम गर्न रुची नहुँदा र घरायसी समस्याका कारण पनि पछिल्लो समय उक्त संख्यामा बढोत्तरी आएको उनको दाबी छ । 

उनले भने, ‘एकातिर राम्रो अवसर पाउँदा पाउँदै अर्कोमा किन दुःख गर्नु भन्ने हाम्रो मानसिकता छ । प्रहरीमा पनि यही भएको हो । अन्यत्रबाट सोचेअनुसारको तलब, सुविधासँगै काम पनि सहज, सरल हुने भएपछि यहाँ किन दुःख गरिरहनु भनेर बीचमै जागिर छाड्ने गरेको पाइन्छ ।’ 

त्यस्तै, बढुवा, सरुवामा चित्त नबुझ्दा तथा कर्मचारीहरुको मनोबल घट्दा पनि राजीनामा दिने वा सम्पर्कविहीन हुनेको संख्या बढेको उनको भनाई छ । ‘जति दर्जा बढ्दै गयो, त्यति नै काम गर्ने मनोबल पनि बढ्छ । तर, बढुवामा चित्त नबुझ्दा पनि अधिंकाशले राजीनामा दिने गर्छन्,’ उनले भने, ‘कागजातमा भने घरायसी समस्यालाई कारण देखाउने गरिएको छ ।’

कडायतका अनुसार सम्पर्कविहीन भएकामध्ये अधिकांश कर्मचारी कार्यालय फर्किंदैनन् । उनीहरुको स्थायी ठेगानामा सम्पर्क गर्दा समेत वास्ता नगरेको मुख्यालयको दुःखेसो छ ।

टिप्पणीहरू