एकदिवसीय क्रिकेटको उपाधि भिडन्त अबको केहीबेरमा, कसले मार्ला बाजी ?

एकदिवसीय क्रिकेटको उपाधि भिडन्त अबको केहीबेरमा, कसले मार्ला बाजी ?

क्रिकेट होस् या फुटबल सबैभन्दा माथिल्लो तहको प्रतिष्पर्धा हो विश्वकप । त्यसमा पनि उपाधि रक्षाका लागि हुने फाइनल भिडन्त झन महत्वपूर्ण हुन्छ । आइसीसी विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धा अबको एक घण्टापछि सुरु हुँदैछ । 

एकदिवसीय क्रिकेटको सर्वोच्च उपाधिको भिडन्तमा अष्ट्रेलिया र भारत आमनेसामने हुँदैछन् । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट खेल शुरु हुनेछ । 

यी दुई टिमको प्रतिष्पर्धामा कसले बाजी मार्ला ? अहिले नै भन्न त सकिंदैन । तर, इतिहास हेर्दा अष्ट्रेलियाको पल्लाभारी देखिन्छ । अष्ट्रेलिया पाँच पटकको विश्व विजेता टोली हो भने दुई पटक उपाधि जितेको भारतले आफूलाई प्रतियोगिताकै बलियो टिमका रुपमा उभ्याएको छ । 

आठ पटक विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलियाले पाँचपटक उपाधि चुमेको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको उसले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । सन् २०१९ को विश्वकपमा भने ईङल्याण्डसँग पराजित भएर अष्ट्रेलिया सेमिफाइनलबाटै  बाहिरिएको थियो ।

यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको अष्ट्रेलियाले सेमिफाइनलमा साउथ अफ्रिकालाई स्तब्ध पारेको हो । 

यता, तीन पटक फाइनलमा पुगेको भारतले दुई पटक उपाधि रक्षा गर्दा एकचोटी पराजित भएको छ । सन् २००३ को विश्वकप फाइनलमा भारतसामु अष्ट्रेलिया नै तगारो बनेको थियो । 

विश्व क्रिकेटका दुई महाशक्ति अष्ट्रेलिया र भारतले अहिलेसम्म १५० एक दिवसीय खेल खेलेका छन् । जसमा अष्ट्रेलिया ८३ खेलमा विजयी हुँदा भारतले ५७ खेल जितेको छ । 

यसले पनि इतिहास हेर्दा भारतमाथि अष्ट्रेलिया हावी देखिन्छ । तथापि घरेलु मैदानमा जारी प्रतियोगितामा भारतले शानदार प्रदर्शन गरिरहेको छ । प्रतियोगितामा अविजित रहँदै फाइनल पुगेको भारतले अष्ट्रेलियालाई समूह चरणको खेलमा पराजित गरेको थियो ।

टिप्पणीहरू