ताराध्वजको राजीनामापछि रक्षामन्त्री काठमाडौं फिर्ता

ताराध्वजको राजीनामापछि रक्षामन्त्री काठमाडौं फिर्ता

कात्तिक १७ गते राति जाजरकोटमा भुईंचालो गएदेखि नै गृहजिल्ला सुर्खेतमा बस्दै आउनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का राजधानी फर्कनुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा हिजो साँझ काठमाडौं आउनुभएको हो ।

यता दशैंअघि आगामी प्रधानसेनापतिको लाइनमा रहेका जर्नेल ताराध्वज पाण्डेले काग तिहारको अघिल्लो दिन राजीनामा दिएका छन् । बढुवाको निम्ति दशैंअघि प्रक्रिया बढाइए पनि जन्म मितिको विवाद बढेपछि उनले मङ्ग्सिर ३ गते जङ्गी अड्डा पुगेर पिएसओजहरुसङ्ग विदाइ भेट हुने गरी राजीनामा दिएका थिए । 

जंगी अड्डाबाट सूचनासम्म निकालेर बढुवा सिफारिस नभएपछि अन्य प्रक्रियामा गाँठो परेको थियो । त्यसबीच उनको जन्ममिति विवाद संसदको राज्य व्यवस्था समिति र रक्षा मन्त्रालय पुगेर जंगी अड्डासमेत पाण्डेको राजीनामा माग्न बाध्य भएको बताइन्छ । 

मन्त्री हिजो पनि भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल लिएर जानुभएको थियो । दिउँसो साढे २ बजे सेनाको एमआई हेलिकोप्टरमा सुर्खेतबाट त्रिपाल र ब्लाङ्केट लिएर जाजरकोट गएपछि सोही हेलिकोप्टरमा साँझ काठमाडौं फर्कनुभएको हो ।

उहाँ अस्ति पनि सुर्खेत विमानस्थलबाट त्रिपाल लिएर हेलिकोप्टरमा रुकुम पश्चिम जानुभएको थियो । ती त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय,रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय,मुसिकोट नगरपालिकामा पाँच सय,सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिएको थियो ।

टिप्पणीहरू