गल्ती सच्याउँदा कोही होचो भैहाल्दैन !

गल्ती सच्याउँदा कोही होचो भैहाल्दैन !

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालालाई सजायँ अवधि पूरा नहुँदै रिहा गर्दा चित्तमा नपरेकाले छुट दिइएको बताएका थिए ।

चारैतिरबाट विरोध भएपछि त्यसउपर पुनः सुुनुवाइ भयो र पूर्ण इजलासले प्रधानन्यायाधीशकै आदेश उल्टाएर कोइरालालाई पुनः जेल पठायो । अहिले फेरि सरकारको सिफरिसमा संविधान दिवसको हुर्मत लिँदै राष्ट्रपति रामचन्द्र पौडेलले खुलेआम दिनदहाडै चेतन मानन्धरको हत्या गर्ने रिगल ढकाललाई आममाफी दिएको अवस्था छ । फलस्वरूप ढकाल जेलबाट संविधान दिवसको दिन रिहा भएका छन् ।

रिहाइको खबर छापिएको गोरखापत्र बजारमा नआउँदै, एकाबिहानै ढकालका समर्थक र शुभचिन्तकहरू दाङ र कैलालीबाट गाडीको लस्कर लगाएर उनलाई स्वागत गर्न पुगेका थिए । हेर्दा लाग्थ्यो उनी ठूलै लडाइँ जितेर आएका महान् योद्धा हुन् जसलाई भित्री मनदेखि स्वागत गर्नु सबैको कर्तव्य हो । एउटा अपराधीको आममाफीद्वारा भएको रिहाइमा देखिएको भव्य स्वागत हेर्दा लाग्थ्यो, मुलुकमा धन र बाहुबल हुनेले, समूह हुनेले जे गरे पनि हुने दिन आएछन् ? 

ढकालको स्वागतमा जुटेको ताँती हेर्ने जो–कोहीले पनि मन अमिलो पार्दै संविधान दिवसको दुरुपयोगलाई नाजायज, गलत र कानुनको खिल्ली उडाउने घटना भनी विरोध जनाएका छन् । यसले राष्ट्रपति रामचन्द्र पौडेलको छविमा पनि कालो पोतेको अवस्था छ भने पीडितलाई निराश र पीडकमा उत्साह र ऊर्जाको सञ्चार गरेको छ । यो घटनामा नखरमाउले, पिपलपाते र आपूmलाई पानीमाथिको ओभानो देखाउने साना दलले औंला ठड्याउने अवसर पाएका छन्, लोकतान्त्रिक गणतन्त्रविरुद्ध नानाथरी भ्रम फैलाउने मौका पाएका छन् भने जे पायो त्यही गालीसमेत बक्न थालेका छन् ।

यस्तो अवसर हामीले नै जुटाइदिएका हौं । गलतलाई गलत भन्न नसक्ने, राजनीतिलाई अपराधिकरण गर्ने, गुण्डा, बाहुबली र भोट किनेकै आधारमा चुनाव जित्ने मनस्थितिका कारण यस्तो हुन पुगेको हो । तर हामी यो कुरा स्वीकार्न तयार छैनौं । लाग्छ, हामी अझैं पनि एउटा गल्ती छुपाउनको लागि हजार गल्ती गर्दैछौं, जसको आभाष भए पनि सच्याउन तत्पर छैनौँ । यो सबैभन्दा दुःखद पक्ष हो ।

दल तथा नेताका यिनै क्रियाकलापले राजनीतिमा नसोचेको मोड आउन सक्छ । जनताको त्याग र बलिदान खेर जान सक्छ । तसर्थ एकपटक सोचौं, छलफल गरौं,  के ढकालको रिहाइ जायज हो ? कानुनसम्मत हो ? हुन त भर्खरै मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुन्ने आदेश दिएबापत न्यायिक सिद्धान्तविपरीत काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई रुकुमकोट सरुवा गरिएको छ । उनलाई देखाएर न्यायालय तर्साउने अर्थात् नाङ्लो ठटाएर हात्ती खेद्ने नाटक मञ्चन भएको छ । तैपनि, जनता न्यायालयप्रति अझै आश्वस्त छन् ।

तसर्थ रञ्जन कोइरालाकै शैलीमा दोषीलाई पुनः जेल पठाउँदा न्याय मर्दैन, न्यायालयले पक्षपात गर्दैन र गलत बाटोमा हिँडेको न्याय पनि सच्चिने ठाउँ छ भन्ने नजिर स्थापना गर्नुपर्ने अवस्था छ । र, ढकाल रिहाइ प्रकरणमा राष्ट्रपतिले गरेको गल्ती सच्याउने तत्परता कसै न कसैले देखाउनुपरेको छ । शक्ति पृथकीकरणको सिद्धान्तले पनि एउटा शक्तिले गलत गरे अर्कोले सच्याएर  शक्ति सन्तुलनमा ल्याउने अभ्यासलाई सैद्धान्तिक स्वीकृति दिन्छ । गल्ती सच्याउने तत्परता कुनै न कुनै निकायबाट हुनै पर्छ । 

टिप्पणीहरू