सेनालाई प्राप्त सहयोग सखाप

सेनालाई प्राप्त सहयोग सखाप
सुन्नुहोस्

एउटा चर्चित उखान छ, ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड ।’ यो उखान सरकारको क्रियाकलापसँग ठ्याक्कै मिल्दोजुल्दो छ । विभिन्न मुलुकले सहयोगस्वरूप दिएको करोडौं मूल्यको गाडी कबाडी हुँदासमेत सरकारको ध्यान जान सकेको छैन । 

करलगायत क्लियरेन्स नभएर नम्बर प्लेट हाल्न नसक्दा सेनाको निम्ति पोहोर चीनबाट आएका ८२ वटा साना–ठूला सवारी साधन थन्किएका छन् । पानी र पेट्रोल दुवै ओसारपसार गर्न मिल्ने ट्याङ्कर राख्दाराख्दै थोत्रो भएको छ । त्यस्तै, रेष्टुरेण्ट, ग्यारेजलगायत सम्पूर्ण सुविधायुक्त ट्रक थन्क्याएर राखिएको छ । 

रेञ्जर गण छाउनीमा दर्जनौँ बख्तरबन्द गाडी ग्राउण्डेड छन् । चीनबाट प्राप्त ल्याण्डरोभर टाइपका गाडीसमेत चलाउन सकिएको छैन । सेनाले पुराना साधन प्रयोग गरिरहँदा महँगामहँगा गाडीमा खिया लागेको छ । चीनले दिएको र युएनबाट फिर्ता आएको अन्य गाडी कबाड बनेका छन् । 

सरकारले बल्लतल्ल पाएको सहयोगको सदुपयोग गर्न नसक्दा ती गाडी त्यत्तिकै खेर गइरहेको अवस्था छ । कतिपय सामान ऐनकानुनको कारणले थन्किएका छन् त कतिपयलाई जानाजान थन्क्याइएको छ । पाएका सामानको प्रयोग कमै मात्र हुने गरेको छ ।

एक जर्नेलले भने, ‘सरकारले पहिलो कुरा सहयोग लिनै सक्दैन । लिइहाले पनि पारा सबैले देखेकै छौं । सहयोगस्वरूप प्राप्त कुनै सामानको सदुपयोग भएको छैन । कुनै नयाँमै थन्किएका छन्, कुनै चलाउनै नपाई बिगारेर राखिएको छ । अनि सहयोगको रटान लगाएर मात्र के गर्नु ?’

यता, चीनले अघिल्लो महिना पठाएको नयाँ गाडीहरू छाउनीस्थित जंगी असबाबखानामा सिल तोडेर रुजु गर्ने काम भइरहेको छ । ती सामान सञ्चालनमा आउँछ कि त्यत्तिकै थन्किन्छ ? भन्न सकिँदैन । 

सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने 

छिमेकी भारतले सेनालाई दिनुपर्ने सामानको सूची लामै छ । सेनापति प्रभुराम शर्मा उता गएकै बेला यो वर्ष पनि उसले विविध सामान दिने भनेको थियो तर यसअघिका कतिपय सम्झौता नै कार्यान्वयन हुन सकेको छैन । ६ महिनामा दिने भनेको सामान ६ वर्ष बित्दासमेत सेनाले पाएको छैन । बरु थोरै दिनु, राम्रो दिनु नि ! त्यसमाथि पनि पहिलेकै धेरै सामान दिन बाँकी छ । सम्झौता गरेर चर्चामा आउने अनि दिने बेलाचाहिँ ढिलो दिने । त्यो पनि गतिलो नहुने,’ स्रोतले भन्यो ।

 

टिप्पणीहरू