उता मुद्दा, यता शीतलनिवास नपुग्दै मृत्यु

उता मुद्दा, यता शीतलनिवास नपुग्दै मृत्यु
सुन्नुहोस्

राष्ट्रपति कार्यालयलाई विश्वासको खाँचो थियो, अख्तियारलाई पशुपतिनाथको जलहरि घोटाला प्रकरणमा निस्वार्थ अनुसन्धानको ! दुबैका लागि एउटा राष्ट्रसेवक कर्मचारी दत्तचित्त भई काममा थियो । तर, जिन्दगीका अनगिन्ती जिम्मेवारीलाई असरल्ल छाडेर कोही आर्यघाटमा खरानी बनेर उड्यो, सधैं–सधैंलाई !

नेपाल सरकारका सहसचिव शेरजंग कार्की यस्तै वियोगका कथासँगै अस्ताए । गत शुक्रबार (असोज १२ गते) बिहान नर्भिक अस्पतालले मृत्यु प्रमाणित गर्नुअघि बिहीबार राति घरमा एक्लै सुतेका थिए । अख्तियारको अनुसन्धान अधिकृतका रूपमा पशुपतिनाथमा जडान गरिएको जलहरि अनियमितताबारे उनैले छानवीन गरी प्रतिवेदन बुझाएका हुन् । संयोग कस्तो भयो भने, उनकै अनुसन्धानका आधारमा बिहीबार दिउँसो नै अख्तियारले पूर्वसदस्य सचिव डा.प्रदीपकुमार ढकाल, वर्तमान सदस्य सचिव डा.मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई एक करोड १७ लाख एक हजार सात सय ८१ रूपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको भन्दै मुद्दा बुझाएकै दिन शेरजंगको जीवनको अन्तिम दिन बन्न पुग्यो ।

अख्तियारको ‘अपजसे’ जागिर राष्ट्रपति कार्यालयको ताकेताका कारण त्यता सरेकोमात्रै थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल बहाल हुनासाथ उहाँले प्रमाणित गर्नुभएको नागरिकता विधेयकलाई कार्यालयभित्रैका कर्मचारीले विवादित बनाएका थिए । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रमाणित नगर्नुभएको कागजमै, उहाँको नामको मुन्तिर आफ्नो नाम लेखाई नयाँ राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको भनी चर्चा भयो । त्यस्तो गोपनीयता बाहिर आउनुको कारण थियो, त्यहाँस्थित कानुन महाशाखाको लापरवाही वा सूचनाको चुहावट । त्यहाँ एमाले पृष्ठभूमिका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईकी पत्नी एवं कानुनतर्फकी सहसचिव इन्दिरा दाहाल थिइन् । उनी वा उनको महाशाखाको कमजोरीका कारण आतेआते राष्ट्रपतिले व्यहोरेको विवाद फेरि नदोहोरियोस् भन्नका लागि विश्वासिलो सहसचिवको खोजी हुँदा त्यसमा परेका थिए, शेरजंग । आफ्नो चाहनाले होइन, त्यताको मागबमोजिम उनी अख्तियारबाट सरुवा भएका हुन् । इन्दिराचाहिँ त्यहाँबाट सरुवा भई उर्जा मन्त्रालय र त्यहाँबाट पनि चिलिमे जलविद्युत परियोजनाको कानुन महाशाखामा कार्यरत छिन् । 

जागिरजस्तै सुन्दर थियो, शेरजंगको परिवार । पत्नी शर्मिला नेपाल वायुसेवा निगममा २० वर्षभन्दा बढी समयदेखि परिचारिका (एयर होस्टेस) का रूपमा स्थायी सेवामा थिइन् । जीवनको अन्तिम रात शेरजंग बबरमहलस्थित घरमा एक्लै थिए । १४ वर्षीय छोरा अर्को कोठामा । ठूली छोरी एक महिनाअघि उच्च शिक्षा अध्ययनका क्रममा अमेरिका गएकी । पत्नी शर्मिला त्यही दिन काठमाडौं–दोहा उडानका कारण आकाशमै थिइन् । बिहान छोराले स्कूल जाने समय भएपछि बाबुको खोजी गरे । तर, उनी बोलेनन्, उठेनन् । के भयो भनी सोधखोज गर्ने क्रममा छिमेकी तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यहरू भेला भए । ढोका खोल्दा अचेत अवस्थामा भेटिए । मुखबाट बान्ता गरेजस्तो फोहोर चिज निस्किएको थियो । त्यही अवस्थामा भीमार्जुनले उनलाई नजिकै रहेको नर्भिक अस्पताल पु¥याए । तर, अस्पतालले शरीरको सम्पूर्ण चाल बन्द भइसकेको जानकारी दियो । अर्थात्, उनको निधन भइसकेको थियो । 

निधनपछि कर्मचारीबृत्तमा अनेकन चर्चा भएका छन् । पशुपतिनाथमा जडान गरिएको जलहरि प्रकरणमा तीन जनाका विरुद्ध अख्तियारले मुद्दा दायर गर्नुअघि सदस्य सचिव डा.मिलन थापाले एक धम्कीपूर्ण पत्र लेखी ‘आत्मसम्मान तथा मौलिक हकमा ठेस लाग्ने गरी कारवाही गरेमा मलाई प्राण त्याग गर्न बाध्य बनाउनेहरूको नाम सार्वजनिक गर्नेछु’ भनेका थिए । सोही पत्रमा उनले छानवीनका क्रममा अख्तियारका कतिपय कर्मचारीले आफूहरूमाथि बार्गेनिङ गरेको, पटक–पटक तनाव दिई ‘अन्य किसिमबाट’ अनुसन्धान गरेको जस्ता प्रसंग उल्लेख गरेका थिए । भनिन्छ, डा.थापाले कसैलाई नबिझाउने स्वभावका शेरजंगलाई नै लक्ष्यित गरी उक्त पत्र लेखेका हुन् । र, उनी त्यसबाट उत्पन्न तनावबाट मुक्ति खोज्दै थिए । कर्मचारीबीच चलेको चर्चाअनुसार, बिहीबार राति उनी मदिरा सेवन गरी सुतेका थिए । यद्यपि, यी चर्चा वास्तविकताभित्रका थिए, थिएनन् यकिन छैन ।

बरु, नेपालका निजामती कर्मचारीको जीवनचर्याका केही कटु यथार्थबाट स्वयं शेरजंग पनि मुक्त थिएनन् । जस्तो– अनुसन्धानसँग सम्बन्धित सेवामा कार्यरत कर्मचारीले झेल्नुपर्ने तनाव, दबाब, प्रलोभन उनीमाथि पनि थियो । जिम्मेवारी बहन गर्ने सिलसिलामा कर्मचारीले व्यहोर्नुपर्ने यस्ता तनावको व्यवस्थापन गर्न सरकारले कुनै समय र सुविधा दिएको हुँदैन । तनावकै बीचमा काम गर्ने क्रममा रक्तचाप बढ्ने, मुटुको चालमा समस्या आउने, औषधी सेवन गर्नुपर्नेजस्ता अरु थुप्रै समस्याबाट उनी मुक्त थिएनन् । खानपान र बाहिरी मनोरञ्जनमा उनी अरु कर्मचारीको तुलनामा त्यति सक्रिय थिएनन् । तर, व्यक्तिगत तनाव व्यवस्थापन गर्न नसक्दा र सन्तुलित जीवनचर्या अपनाउन नसक्दा थुप्रै नेपाली युवाले अल्पायुमै जीवन गुमाउनुपरे जस्तै उनका हकमा पनि लागु भएको मान्न सकिन्छ ।
 

टिप्पणीहरू