‘प्रधानसेनापति ट्रफी–२०८०’ प्रतियोगिता शुरु

‘प्रधानसेनापति ट्रफी–२०८०’ प्रतियोगिता शुरु
सुन्नुहोस्

नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०८०’ शुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले हिजो खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । आगामी असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका १४ वटा टिमले सहभागिता जनाएका छन् । 

जङ्गी अड्डास्थित खेल मैदानमा भइरहेको प्रतियोगितामा पृतना तथा बाहिनीका टिमहरुले मार्चपोष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षासम्बन्धी जिम्मेवारीसमेत निर्वाह गरिरहेको सेनाले यस वर्षको गणनामा बाघको संख्या दोब्बर भएको उपलब्धिमा बाघको मास्कटसमेत प्रदर्शन गरेको थियो । 

त्यस्तै, सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी तथा सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजित ‘एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनसिप’ को म्याराथन विधामा पहिलो अन्तर्राष्ट्रिय पदक हासिल गरेर नेपाल र नेपाली सेनालाई विश्वसामु परिचित गराउने ओलम्पियन जमदार जीतबहादुर केसीलाई प्रधानसेनापति शर्माले कदर पत्र प्रदान गर्नुभएको छ । 

सोही क्रममा उहाँले महिला र पुरुष दौडका विजेताहरुलाई पुरस्कार वितरण पनि गर्नुभएको हो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरु पनि सञ्चालन हुने सेनाले जनाएको छ । 

हिजो भएको समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेलकुद संघका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, सैनिक सहचारीहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो । 

सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरुको पहिचान गरी सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्न वि.सं. २०६५ सालदेखि ‘प्रधानसेनापति ट्रफी’ को आयोजना गर्न थालिएको हो ।
 

टिप्पणीहरू