मुलुकमा एकपछि अर्को धार्मिक द्वन्द्व,नेपालगञ्ज एकाएक अशान्त बन्नुको कारण के ?

मुलुकमा एकपछि अर्को धार्मिक द्वन्द्व,नेपालगञ्ज एकाएक अशान्त बन्नुको कारण के ?
सुन्नुहोस्

केही समययता मुलुकमा एकपछि अर्को धार्मिक द्वन्द्व फैलाउने घटना घटिरहेको छ । धर्मको विषयलाई लिएर विभिन्न धार्मिक समुदायबीच निरन्तर चर्काचर्की भइरहेको छ । धार्मिक द्वन्द्वका कारण मुलुक अशान्त बन्दै गएको छ । सदियौंदेखि मिलीजुली बस्दै आएका नेपाली अहिले धर्मलाई लिएर एकअर्कासँग भिडिरहेका छन् । 

धरानबाट शुरु भएको धार्मिक द्वन्द्वले ठूलो भूकम्प ल्याउने अनुमान लगाउन थालिएको छ । धरानमा हिन्दू पक्ष र ईसाइ पक्षबीच देखिएको तनावलाई बेलैमा नियन्त्रण गर्न नसकेको भए, त्यहाँ धेरै क्षति हुन सक्थ्यो । धरान उपमहानगरपालिका वडा नम्बर १४, सिंहदेवी चोक छेउमा रहेको बालगोपाल मन्दिरअगाडि चर्च निर्माण गरेपछि हिन्दूवादीहरुले व्यापक असन्तुष्टि जनाएका थिए । 

उक्त घटना सेलाउन नपाउँदै धरानमै गोरु काटेर भोज लगाइयो । यसले हिन्दुवादीहरुको आस्थामा गम्भीर चोट पुग्यो । मुलुकभरका हिन्दूवादीले त्यसको विरोधमा प्रदर्शनको घोषणा गरे । धार्मिक दङ्गाले ठूलो क्षति पुर्याउने देखेपछि जिल्ला प्रशासन कार्यालय,सुनसरीले निषेधाज्ञा जारी गर्यो । 

त्यस्तै प्रकृतिको घटना सर्लाहीको सदरमुकाम मलंगवामा पनि घट्यो । त्यहाँ पटकपटक धार्मिक द्वन्द्व फैलाउन खोजियो । कृष्ण जन्माष्टमीमा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन कर्फ्यु नै जारी गर्नुपर्यो । विश्वकर्मा पूजा र गणेश पूजाको मूर्ति विसर्जनको क्रममा पनि ठूलो हंगामा मच्चियो ।

हाल बाँकेको नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भिडन्त चलेको छ । सामान्य विषयमा दुई धार्मिक समुदायबीच विवाद हुँदा त्यहाँ कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । एक जना हिन्दूवादीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको विषयमा सामाजिक सञ्जालमा ‘अन्टसन्ट’ लेख्दा निम्तिएको द्वन्द्वले सामाजिक सद्भाव बिथोलिएको छ ।

आजदेखि एलएलबीको परीक्षा भएकाले प्रहरीले प्रवेशपत्र देखाएर हिँड्डुल गर्न दिएको छ । यता,जमुनाहा नाकामा झण्डै दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा छन् । 

गत शुक्रबारको कुरा हो,एक जना हिन्दूवादीले सामाजिक सञ्जालमा इस्लाम धर्मका प्रवर्तकको अपमान हुनेगरी स्टाटस लेखे । उक्त स्टाटसपछि मुस्लिम समुदाय आन्दोलित भएको हो । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई ज्ञापनपत्र बुझाए । मुस्लिम समुदायको एक टोलीले ज्ञापनपत्र बुझायो,अर्को दुई टोलीले एकाएक टायर बाल्यो ।

नीति चोक र त्रिभुवन चोकमा टायर बालेर दुवै टोली जिल्ला प्रशासन पुगे । उनीहरु प्रशासनको परिसरमै धर्ना बसे । चर्को नाराबाजी भयो । जनता समाजवादी पार्टी (जसपा) बाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन शेखको टोली त्यतिबेला अराजक रुपमा प्रस्तुत भएको थियो । 

उनीहरुले आन्दोलन गरेपछि हिन्दू ओमकार समाजले पनि शक्ति प्रदर्शनको घोषणा गर्यो । समाजले बन्दको घोषणा गरेसँगै प्रशासनले सर्वपक्षीय भेला ढाक्यो । विभिन्न राजनीतिक दलका नेता,संघसंस्था, मानव अधिकारकर्मी,नागरिक अगुवा, पत्रकारलगायतको बैठकले सामाजिक सद्भाव र भाइचारा कायम गर्न मंगलबार बिहान र्याली निकाल्ने निर्णय गर्यो । 

यता,कट्टरवादी हिन्दूहरुले बन्द फिर्ता नलिने अडान कसेका थिए । हिजो बिहान ७ बजेबाट शुरु भएको र्याली साढे ९ बजे सकियो । र्यालीको क्रममा झडप हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । बिपी चोक,टाँगा स्टेशनमा यसअघि पनि पटकपटक भिडन्त भइसकेको हुनाले त्यहाँको सुरक्षा व्यवस्था अलिक कडा थियो । 

राम्रैसँग र्याली सकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आ–आफ्नो सुरक्षा व्यवस्थातिर लागे । बिहान १० बजेतिरको कुरा हो, बागेश्वरी मन्दिर परिसरबाट हिन्दू समुदायले जुलुस निकाल्यो । विभिन्न चोक परिक्रमा गर्दै बिपी चोक पुगेका उनीहरुमाथि ढुङ्गा प्रहार भयो । बिपी चोकमा मस्जिद भएकाले त्यहाँ अलिक धेरै मुस्लिमहरुको बसोबास छ । उनीहरुले छतबाट ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बन्यो । 

स्थिति नियन्त्रणमा लिने क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीले बल प्रयोग गर्दा केही सर्वसाधारण पनि घाइते भएका छन् । मुस्लिम समुदायले तीन वटा मोटरसाइकलमा आगजनी गरिदिएका छन् भने अन्य थप क्षति हुन सकेन । प्रशासनले हिजो दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । 

‘त्यति ठूलो क्षति हुनचाँहि पाएन । जसोतसो स्थिति नियन्त्रणमा लिइएको छ । मानवीय क्षति भएको छैन ।  सामान्य बल प्रयोग गर्दा केही घाइते भएका छन् । अहिले यहाँ शान्ति छ । कोही निस्किएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि सर्वपक्षीय छलफल भइरहेको छ’,एक सुरक्षाकर्मीले भने । 

कर्फ्युका कारण विद्यार्थीलाई सास्ती, हजारौं नेपाली सीमामा अलपत्र

हिजो रातिदेखि नेपालगञ्ज बजार शान्त छ । बजारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिएको छ । मुस्लिम समुदायबाट लखेटिएका दुई जनालाई प्रहरीले उद्दार गरेको छ । आजदेखि एलएलबीको परीक्षा भएकाले प्रहरीले प्रवेशपत्र देखाएर हिँड्डुल गर्न दिएको छ ।  

यता,जमुनाहा नाकामा झण्डै दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबैलाई गन्तव्यतर्फ लैजाने तयारी थालिएको छ । रोजगारीका लागि भारत पुगेकाहरु दसैं नजिकिँदै गर्दा धमाधम फर्किदैं छन् । उनीहरु हिजो रातिदेखि अलपत्र परेका छन् ।  प्रशासनको सहयोगमा सशस्त्र प्रहरीले केहीलाई गन्तव्यतर्फ पठाएको छ । 

नेपालगञ्जमा किन भइरहन्छ धार्मिक द्वन्द्व ? 

नेपालगञ्जमा बसोबास गर्दै आएकामध्ये २० प्रतिशत मुस्लिम छन् । उनीहरुले निश्चित ठाउँमा बस्ती बसाएका छन् । गत असोज ११ गते त्यहाँ धुमधामका साथ ‘मोहम्मद डे’ मनाइएको थियो । गणेश चतुर्थी पनि त्यही दिन परेको थियो । सफलतापूर्वक दुवै धर्मको चाड सकियो । 

विगतदेखि नै एकअर्का समुदायबीच शक्ति प्रदर्शन गर्न विभिन्न नचाँहिदो क्रियाकलाप गरिँदै आइएको छ । जसले विवाद निम्त्याउने गरेको छ । मुस्लिम समुदायले मन्दिरको अगाडि गएर ढोल बजाइदिन्छन् । यता, हिन्दू समुदाय त्यसको जवाफ दिन मस्जिद बाहिर भजन गाइदिन्छ । 

२०७४ सालमा नरैनापुरमा धार्मिक द्वन्द्वले ठूलो रुप लिएको थियो । सो घटना घटेको लामो समयपछि फेरि सामाजिक सद्भाव भड्काउने गरी धार्मिक दङ्गा भएको छ । दुई पक्षको आन्दोलनको पछाडि राजनीतिक पार्टीहरुको हात रहेको जानकारहरुको बुझाइ छ ।

टिप्पणीहरू