पार्किङको ठेक्काविरुद्ध यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा

पार्किङको ठेक्काविरुद्ध यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा

सिराहाको लहान नगरपालिकाका साना तथा मझौला यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । नगरपालिकाले बिना प्रतिस्पर्धा लगाएको पार्किङको ठेक्का खारेजीको माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । 

नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर महेन्द्र राजमार्गमा पार्किङको ठेक्का दिएको उनीहरुको आरोप छ । व्यवसायीहरुका अनुसार माँ शखडा यातायात प्रालि र छिन्नमस्ता भगवती यातायात प्रालिलाई नगरपालिकाले प्रतिस्पर्धाबिनै ठेक्का दिएको हो । 

महेन्द्र राजमार्गमा पार्किङस्थलबारे निर्णय लिने अधिकार स्थानीय तहलाई छैन् । तर, नगरपालिकाको गत साउन २६ गतेको निर्णयानुसार साउन २७ गतेदेखि २०८१ असार मसान्तसम्मका लागि पार्किङ सञ्चालन गर्ने अनुमति दिइएको छ । 

दुवै फर्मलाई वार्षिक ५१ हजार रुपैयाँको दरले पार्किङको ठेक्का दिइएको नगरपालिकाले जनाएको छ । यद्यपि, नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबिनै ठेक्का दिएको विषयमा भने केही बोलेको छैन् । यातायात व्यवसायीहरुकै सहमतिमा पार्किङ अनुमति दिएको नगरपालिकाको दाबी छ ।

तर, व्यवसायीहरुले भने उक्त ठेक्कालाई गैरकानुनी भनेका छन् । त्यसलाई खारेज गर्न माग गर्दै उनीहरुले पर्सि सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । 

त्यस्तै, सोही दिन बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सामूहिक उजुरी दिने व्यवसायीहरुले बताए । शुक्रबार संघीय र प्रदेश सरकारका यातायातमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सोनामाई यातायात प्रालिका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

पार्किङस्थलमा गाडी पार्क नगरेपनि जबरजस्ती शुल्क असुल्ने गरिएको उनको आरोप छ । ‘त्यहाँ पार्किङ नगरेपनि शुल्क उठाउने गरिएको छ । यो विषयमा ईलाका प्रहरी कार्यालयमा पनि जानकारी गरायौं । तर, अहिलेसम्म कारबाही गरिएको छैन्’, उनले भने । 

लहानमा जय सोनामाई यातायात सेवा प्रालि, सिरहाली यातायात सेवा प्रालि, लहान फूलबारी यातायात प्रालि, धमिनी यातायात सेवा प्रालि, माँ शखडा यातायात प्रालि, सगरमाथा यातायात सेवा प्रालि, सलहेश यातायात प्रालिलगायत एक हजार बढी साना तथा मझौला यातायात कम्पनी सञ्चालनमा छन् । पार्किङस्थलको उचित व्यवस्थापन हुन नसक्दा लहानको मुख्य बजार अस्तव्यस्त देखिने गरेको छ ।

टिप्पणीहरू